जनकपुरधाम । सिरहामा छिमेकको तीन वर्षीया छोरीको हत्या गरेको आरोपमा सिरहा नगरपालिका(१८ जरूवा लक्ष्मीनिया टोल बस्ने ४७ वर्षीया सोना देवी यादव र उनकी छोरी पूजाकुमारी यादव पक्राउ परेका छन् । रिया कुमारीको हत्या गरेको आरोपमा आमाछोरीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता डीएसपी मुक्तिनाथ सापकोटाले बताए ।
डीएसपी सापकोटाले खोजतलासको क्रममा गत वैशाख १४ गते राति साढे ११ बजे छिमेकी धनिकलाल यादवको घरको छतमा जाने भर्याङ नजिकै मसुराको झ्याङ्टाभित्र कालो रंगको प्लाष्टिकको बोराभित्र बालिकाको शव फेला परेको बताए । सोनावतीका श्रीमान् धनिकलाल यादव भने फरार रहेका छन् ।
सापकोटाका अनुसार छिमेकी रमेश यादवकी तीन वर्षीया छोरी रिया कुमारी वैशाख १२ गते विहान घर अगाडि खेलिरहेकी अवस्थामा हराएकी थिइन् । करिब एक वर्षदेखि छिमेकी रमेश र धनिकलालको परिवारबीच झैझगडा हुने गरेको थियो । डीएसपी सापकोटाले परिवारसँगको रिसइबीका कारण धनिकलालको परिवारले रमेशको छोरीको हत्या गरेको अनुसन्धानको क्रममा खुलेको जानकारी दिए ।