काठमाडौं । सहकारी संस्थाहरूमा देखिने वित्तीय जोखिमलाई कम गर्न नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कुन) को आयोजनामा लेखा सुपरीवेक्षण समितिको दोस्रो राष्ट्रिय गोष्ठी हुने भएको छ । नेफ्स्कूनका अनुसार आगामी वैशाख २५ र २६ गते काठमाडौंको सोल्टी होटल उक्त गोष्ठी हुन लागेको हो ।
‘संस्थागत सुशासन र सुरक्षणको प्रत्याभूतिः प्रभावकारी लेखा सुपरीवेक्षण समिति’ भन्ने थिमका साथ दोस्रो राष्ट्रिय गोष्ठी गर्न लागिएको नेफ्स्कुनका सीईओ डा शिवजी सापकोटाले जानकारी दिए । गोष्ठीले लेखा समितिमा रहेका व्यक्तिहरूको ज्ञान, सिप र क्षमतामा विकास गरी संस्थागत सुशासन कायम गर्न टेवा पुर्याउने उनले बताए ।
गोष्ठीमा लेखा समितिको भूमिका, जिम्मेवारी, जवाफदेहिता र विश्व अभ्यासजस्ता विषयलाई समेटेर कार्यपत्रहरू प्रस्तुत गरिने हुँदा सहभागीहरूका लागि गोष्ठी उपलब्धिमूलक हुने उनको दाबी छ । गोष्ठीमा विश्व ऋण परिषद्, एसियाली ऋण महासंघ, नेपाल राष्ट्र बैंक, आइक्यान र सहकारी विभागका साथै अभियानका तर्फबाट कार्यपत्र प्रस्तुत गरिने उनले बताए । गोष्ठीबाट संस्थाहरूलाई सुशासनमा हिँडाउन र लेखा समितिमा रहेका व्यक्तिहरूको क्षमता विकासमा टेवा पुग्ने उनको भनाइ छ ।
लेखा समितिको चासो र क्षेत्रहरूको बुझाइ एवम् प्रभावकारिता वृद्धि गरी संस्थागत सुशासन र सुरक्षणको प्रत्याभूति गर्ने, संस्थागत परीक्षणका क्षेत्र, विधि, प्रक्रिया र प्रतिवेदन प्रणालीमा एकरूपता कायम गरी परीक्षणमा जिम्मेवार पक्षहरूबीच प्रभावकारी सम्बन्ध विकास गर्ने र सुरक्षित साकोस निर्माणका राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय औजारहरूको आन्तरिकीकरण गर्ने उद्देश्य गोष्ठीको छ । साकोस अभियानको नियामकीय दृष्टिकोणबाट विद्यमान समस्याको पहिचान गरी सम्बद्ध पक्षहरूको भूमिका स्पष्ट गर्ने, वित्तीय सहकारीको आन्तरिक नियन्त्रण प्रणालीका विश्व अभ्यास र नेपालको वित्तीय क्षेत्रका अभ्यासहरूको जानकारी प्राप्त गरी आगामी कार्यदिशा तय गर्ने तथा सहकारी क्षेत्रको चुनौतीपूर्ण अवस्थामा लेखा समितिलगायत नेतृत्व तहमार्फत समाधानका सम्भावना पहिचान गर्न गोष्ठी सहयोगी बन्ने नेफ्स्कुनको विश्वास छ ।
गोष्ठीमा लेखा समितिका संयोजक, सदस्य एवं आन्तरिक लेखा परीक्षकलाई समेटिने जनाइएको छ । गोष्ठीमा सहभागिताका लागि वैशाख २० गतेसम्म नाम दर्ता गरिसक्नुपर्नेछ । साकोस अभियानको संस्थागत सुशासन प्रभावकारी बनाउन आन्तरिक नियन्त्रण प्रणालीको मुख्य पक्ष लेखा सुपरीवेक्षण समितिको साझा एवं स्तरीय बुझाइ विकास गर्ने उद्देश्यले २०७३ सालमा पहिलो पटक यस्तो गोष्ठी आयोजना गरेको थियो ।