वासिड.टन, जेठ ३०
अमेरिकामा कामबाट निकालिएर वेरोजगारी भत्ताको दाबी गर्नेहरुको संख्या १५ लाख पुगेको छ । अघिल्लो हप्तासम्म यसरी बेरोजगारी भत्ता दावी गर्नेहरुको संख्या अनपेक्षित भएको अधिकारीहरुले बताएका छन् । अहिले पनि धेरै अमेरिकीहरुले जागिर गुमाउने क्रम जारी नै रहेको उनीहरुले जानकारी दिएका छन् । अर्थतन्त्र र बजारमा विस्तारै सुधार हुदै गएपनि रोजगारी गुमाउने क्रममा भने नरोकिएको हो । अमेरिकामा अहिले धेरै क्षेत्रमा व्यापारिक गतिविधिहरु आंशिक रुपमा भए पनि सञ्चालन हुँदै आएका छन् । श्रम विभागले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार कामबाट निस्काशित हुनेहरुको संख्या अहिलेसम्मकै धेरै देखिएको छ ।
विशेष गरेर रेस्टुरेन्ट, खुद्रा व्यापारहरु र साना व्यवसायमा कार्यरतहरु जागिरबाट निष्काशित भएको पाइएको अधिकारीहरुले बताएका छन् । उनीहरुलाई रोजगारदाताले फेरि बोलाउने अपेक्षा गरिएपनि निश्चित भने नभएको बताइएको छ । अमेरिकामा रोजगारी गुमाउनेहरुको संख्या दिनप्रतिदिन बढ्दै गएपछि बेरोजगारी भत्ता दिनुपर्ने बाध्यताले सरकार थप अफ्ठ्यारोमा परेको छ । व्यापार व्यवसाय घट्ने, बेरोजगारी बढ्ने र ठूलो रकम बेरोजगारी भत्ताको रुपमा वितरण गर्नुपर्ने बाध्यताले मुलुककै आर्थिक क्षमतामा असर पर्नसक्ने अनुमान गरिएको छ ।