काठमाडौँ । संविधानसभा सदस्य एवं पूर्वमन्त्री सूर्यमान गुरुङको निधनप्रति नेपाली कांग्रेसले गहिरो दुःख व्यक्त गरेको छ । कांग्रेस केन्द्रीय कार्यसमितिको बिहीबार बसेको आकस्मिक बैठकले उनको निधनप्रति दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको छ ।
नेता गुरुङको निधनप्रति बैठकले दुःख व्यक्त गर्दै श्रद्धाञ्जलि अर्पण गर्नुका साथै दिवङ्गत आत्माको चीरशान्तिको कामना र शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरेको छ ।
मुख्य सचिव कृष्णप्रसाद पौडेलले स्व. गुरुङप्रति सम्मान प्रकट गर्दै बैठकले शोक कार्यक्रमअन्तर्गत वैशाख २७, २८ र २९ गते तीन दिनसम्म पार्टीको केन्द्रीय कार्यालय, प्रदेश कार्यालय र सबै जिल्ला कार्यालयमा झण्डा आधा झुकाउने निर्णय गरेको जानकारी दिए ।
नेता गुरुङको यही वैशाख २५ गते काठमाडौँ ज्ञानेश्वरस्थित हिमाल अस्पतालमा उपचारका क्रममा निधन भएको हो । वैशाख २८ गते पार्टीको केन्द्र, प्रदेश तथा जिल्ला कार्यालय बन्द गर्ने, स्वर्गारोहणको १३ दिनसम्म केन्द्र, प्रदेश र जिल्ला कार्यालयमा शोक पुस्तिका राख्ने र स्वर्गारोहणको १३औँ दिनमा सम्बन्धित जिल्लामा शोकसभाको आयोजना गर्ने निर्णय गरेको छ ।
विसं २०१४ को भद्र अवज्ञा आन्दोलनमा सहभागी भई कांग्रेसको राजनीतिक यात्रा प्रारम्भ गरेका स्व. गुरुङलाई २०१७ सालमा प्रजातन्त्र अपदस्थ पछि तत्कालीन व्यवस्थाले पक्राउ वारेन्ट जारी गरेको थियो । तत्पश्चात् उनी भारतको दार्जिलिङ निर्वासित भई सशस्त्र सङ्गठनमा सक्रिय रहेका थिए ।