काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले बैंकका १६९ वटा शाखा कार्यालयमार्फत एकसाथ वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ । बैंकको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत वित्तीय पहुँचबाट बाहिर रहेका विभिन्न लक्षित वर्गहरू पहिचान गरी वित्तीय साक्षरता कार्यक्रम आयोजना गरिएको हो ।
बैंकले सात वटै प्रदेशअन्तर्गत आयोजना गरेका कार्यक्रमहरूमा २० हजारभन्दा बढी कृषक, लघु, साना तथा मझौला उद्यमीहरू, मजदुर, वैदेशिक रोजगारमा जाने सम्भावित व्यक्तिहरू, विद्यार्थी, महिला, विप्रेषण प्रापक तथा स्थानीय युवा–युवतीहरूको सहभागिता रहेको थियो । बैंकले कोशी प्रदेश आयोजना गरेको कार्यक्रममा दुई हजार पाँच सय, मधेश प्रदेशमा दुई हजार, बागमती प्रदेशमा पाँच हजार, गण्डकी प्रदेशमा चार हजार पाँच सय, लुम्बिनी प्रदेशमा तीन हजार पाँच सय, कर्णाली प्रदेशमा पाँच सय र सुदूरपश्चिम प्रदेशमा दुई हजार पाँच सयभन्दा बढी लक्षित वर्गको सहभागिता रहेको थियो ।
ग्लोबल आइएमई बैंकले चालू आर्थिक वर्ष २०८०/८१ मा मुलुकका ७७ जिल्लामा रहेका आफ्ना तीन सय ५४ वटा शाखामार्फत वित्तीय साक्षरता तथा डिजिटल बैंकिङ प्रवद्र्धन कार्यक्रमहरू सञ्चालन गर्न गइरहेको छ । कार्यक्रममा बचत, कर्जा, रेमिट्यान्स, डिजिटल बैंकिङ, बीमा, लगानी, अतिरिक्त बैंकिङ सेवाहरू, वित्तीय ठगी र वित्तीय अनुशासनसम्बन्धी विषयवस्तुमा जानकारी गराइएको छ ।
ग्लोबल आइएमई बैंक मुलुकका सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकको तीन सय ५४ वटा शाखा कार्यालय, तीन सय ७९ वटा एटीएम, दुई सय ७७ शाखारहित बैंकिङ सेवा, ६८ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर तथा तीन वटा वैदेशिक प्रतिनिधि कार्यालय समेत गरी एक हजार एक सयभन्दा बढी सेवा केन्द्र रहेका छन् ।
ग्लोबल आइएमई बैंकलाई सबैंका लागि बैंक बनाउँदै बैंकले विभिन्न सेवा तथा सुविधासहितका योजनामार्फत आफ्ना ४६ लाखभन्दा बढी ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गरी लाभान्वित गरिरहेको छ ।
त्यसैगरी बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अस्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङलगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै देशको अर्थ व्यवस्थामा महत्वपूर्ण योगदान पुर्याउँदै आइरहेको छ ।