काठमाडौं । नबिल बैंक लिमिटेडले ‘आठ प्रतिशत नबिल डिवेन्चर २०८९’ नामक ऋणपत्र निष्काशनका लागि निष्काशन तथा बिक्री प्रबन्धकमा नेपाल एसबीआई मर्चेन्ट बैंकिङ लिमिटेड नियुक्त गरेको छ । यस सम्बन्धमा दुई कम्पनीबीच सम्झौता पत्रमा हस्ताक्षर गरिएको छ ।
नबिल बैंक लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुङ्गाना र नेपाल एसबीआई मर्चेन्ट बैकिङ लिमिटेडका तर्फबाट प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत लेखनाथ पोखरेलले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । बैंकले प्रतिऋणपत्र एक हजार रूपैयाँ अंकित मूल्यका ऋणपत्र निष्काशन गर्न थालेको हो । वार्षिक आठ प्रतिशत ब्याजदर रहेको यो ऋणपत्रको अवधि आठ वर्षको नै रहेको छ । ३० लाख कित्ताले हुन आउने तीन अर्ब रूपैयाँ बराबरको ऋणपत्र निष्काशन गरिने नबिल बैंकले जनाएको छ ।
यो ऋणपत्रमध्ये १८ लाख कित्ता ऋणपत्रले हुन आउने कुल एक अर्ब ८० करोड ऋण पुँजी रकम व्यक्तिगत तवरबाट बिक्री गरिने तथा १२ लाख कित्ता ऋणपत्रले हुन आउने कुल एक अर्ब २० करोड ऋण पुँजी रकम सर्वसाधारण नेपालीको लागि सार्वजनिक निष्काशनबाट निष्काशन गर्न थालिएको हो । सर्वसाधारणका लागि छुट्टयाइएको १२ लाख कित्तामध्ये पाँच प्रतिशत अर्थात् ६० हजार कित्ता ऋणपत्र सामूहिक लगानी कोषका लागि छुट्टयाएको छ ।