काठमाडौं । भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आजको खेलमा दिल्ली क्यापिट र लखनउ सुपर जायन्ट बीच प्रतिस्पर्धा हुने भएको छ । यी दुई टोली बीचको खेल नेपाली समय अनुसार साँझ पौने ८ बजे सुरु हुने छ ।
प्लेअफमा प्रवेश गर्नका लागि आजको खेल दुवै टोलीका लागि महत्वपूर्ण रहेको छ । दुवै टोली तालिकामा समान १२ अंकका साथा छैटौँ र सातौँ स्थानमा रहेका छन् । दिल्लीले एक खेल बढी खेलेको छ । दिल्लीको यो खेल समूह चरणको अन्तिम खेल हो ।
लखनउको नकआउटमा पुग्ने सम्भावना थोरै छ । दिल्लीका कप्तान ऋषभ पन्त एक खेलको निलम्बनपछि लखनउविरुद्धको खेलबाट पुनरागमन गर्दैछन् । दिल्लीले पनि प्लेअफ दौडमा रहन कुनै पनि हालतमा लखनउलाई जित्नुपर्ने हुन्छ ।
बुधबार सनराइजर्स हैदरावादसँग १० विकेटको हारपछि केएल राहुलको भविष्यको बारेमा धेरै अनुमानहरू भइरहेका छन् । राहुल यस सिजन राम्रो लयमा छैनन् र भारतको आईसीसी टी–२० विश्वकप टोलीमा पनि स्थान बनाउन सकेनन् ।