काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट अन्तर्गत आज राजस्थान रोयल्स र पञ्जाब किंग्स बीच प्रतिस्पर्धा हुँदैछ । यो सिजनको ६५ औँ खेलमा राजस्थान र पञ्जाब भिड्न लागेका हुन् ।
खेल नेपाली समय अनुसार साँझ पौने आठ बजे सुरु हुने छ । दुवै टोली यो सिजनमा दोस्रो पटक आमनेसामने हुँदैछन् । पछिल्लो खेलमा राजस्थानले पञ्जाबलाई उसैको घरमा ३ विकेटले पराजित गरेको थियो ।
राजस्थान आजको खेल जितेर शीर्ष–२ मा रहेर लिग चरण पूरा गर्न चाहन्छ । जबकि पञ्जाब पहिले नै प्लेअफको दौडबाट बाहिर भइसकेको छ । राजस्थानको १२ खेलमा ८ जित र ४ हारबाट १६ अङ्क छ । टोली अङ्क तालिकाको दोस्रो स्थानमा छ । उता पञ्जाब तालिकाको पुछारमा छ । टोलीले १२ खेलमा ४ जित र ८ हारबाट ८ अङ्क जोडेको छ ।
यी दुई टोलीबिच अहिलेसम्म २७ वटा आईपीएल खेल भइसकेका छन् । जसमध्ये राजस्थानले १७ जित हात पारेको छ भने पञ्जाबले ११ खेल जितेको छ ।