काठमाडौं । शेयर बजार परिसूचक बुधबार आरालो लागेको छ । अघिल्ला तीन दिन लगातार रुपमा बढेको शेयर बजारमा आज नौ अंकभन्दा बढीले गिरावट आएको हो ।
नीति तथा कार्यक्रम सार्वजनिक भएको दिन मंगलबार २८ अंकले बढेको थियो । साताको कारोबार हुने चौथो दिन नेप्से परिसूचक नौ दशमलव ५४ अंकले घटेको हो । आजको कारोबार बन्द हुँदा नेप्से परिसूचक दुई हजार १७ दशमलव ९७ अंकमा पुगेको छ । आज कारोबार भएका एक सय ७२ कम्पनीको शेयर मूल्य घटेको छ भने ७२ कम्पनीको शेयर मूल्य आरालो लागेको छ । त्यस्तै आठ कम्पनीको शेयर मूल्य स्थिर रहेको छ ।
आज दिनभरीमा तीन सय १५ कम्पनीका ८४ लाख ९० हजार सात सय २२ कित्ता शेयर ५५ हजार आठ सय ६२ पटक खरिद बिक्री भएका छन् । नेप्से परिसूचकसँग आज कारोबार रकममा पनि गिरावट आएको छ । अघिल्लो दिन चार अर्ब बढीको कारोबार भएको बजारमा आज तीन अर्ब ७० करोड ८४ लाख ३० हजार ५५ रुपैयाँ बराबरको कारोबार भएको छ ।
त्यस्तै आज ‘क’ वर्गका कम्पनीको मापस सेन्सेटिभ इन्डेक्स पनि दुई दशमलव १७ अंकले घटेर तीन सय ५८ दशमलव शून्य नौ अंकमा पुगेको छ ।