काठमाडौं, जेठ ३२
आरएमडीसी लघुवित्त वित्तीय संस्थाले अनाथ आश्रमलाई सहयोग गरेको छ । संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत कम्पनीको इटहरी शाखामार्फत इटहरी उप महानगर पालिका वार्ड नं.४ स्थित असहाय बालबालिका सेवा आश्रमलाई राहत वितरण गरिएको संस्थाले जनाएको छ ।
संस्थाले लकडाउनका कारणले अनाथ आश्रममा रहेको ४१ जना बालबालिकाहरूको आहार विहारमा परेको असहजतालाई न्यूनीकरण गर्न संस्थाले ६० हजार रूपैयाँ बराबरको खाद्यलगायतका सामग्रीहरू हस्तान्तरण गरेको हो । उक्त सामग्री इटहरी उमनपा वार्ड नं. ४ का वडा अध्यक्ष चन्द्रप्रसाद भट्टराई, वडा सदस्यहरू शान्तिराम गौतम र पार्वता बराइलीको रोहबरमा संस्थाको इटहरी शाखाका शाखा प्रबन्धक गोविन्दप्रसाद पौडेलले आश्रमकी अध्यक्ष गीता गौतमलाई हस्तान्तरण गरेका थिए ।
उक्त सहयोगले आश्रम सञ्चालन तथा आश्रित बालबालिकाहरूको जीवनयापनमा केही सहजता हुने विश्वास लिएको जानकारी संस्थाले दिएको छ । संस्थाले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा १५ करोड १४ लाख ४९ हजार रूपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा संस्थाको यस्तो नाफा २४ करोड ४४ लाख ४८ हजार रूपैयाँ रहेको थियो ।
चुक्ता पुंंजी ८९ करोड ९३ लाख २३ हजार रूपैयाँ रहेको संस्थाले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा आठ अर्ब ३८ करोड ७७ लाख ५१ हजार रूपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा २४ करोड ४८ लाख ६४ हजार रूपैयाँ खुुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम १८ लाख ७४ हजार रूपैयाँ रहेको छ भने निष्क्रिय कर्जाको अनुपात शून्य दशमलव आठ प्रतिशत रहेको छ ।
गत आवको सोही अवधिमा भने संस्थाले सात अर्ब ८१ करोड ४२ लाख ८९ हजार रूपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा ३४ करोड ८९ लाख ४० हजार रूपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम ९७ लाख ३४ हजार रूपैयाँ रहेको थियो भने निष्क्रिय कर्जाको अनुपात शून्य रहेको थियो ।