काठमाडौँ,महिला र बालबालिका बेचबिखनविरुद्ध अदालतमा दर्ता भएका मुद्दामा छिटो फैसला हुनुपर्ने आग्रह गरिएको छ । शक्ति समूहले आज आयोजना गरेको मानव बेचबिखन न्यूनीकरणमा सञ्चार क्षेत्रको भूमिका विषयक कार्यक्रममा वक्ताले पीडितलाई न्यायका लागि छिटो फैसला हुनुपर्ने आग्रह गरिएको हो ।
सो समूहका कार्यकारी निर्देशक बालकुमारी दर्लामीले २०६४ सालमा दर्ता भएका मानव बेचबिखनविरुद्धको मुद्दा २०७२ सालमा फैसला भएको उदाहरणसमेत रहेकोे बताए। सो सवालमा अहिलेसम्म एक सय वटा मुद्दा दर्ता भएकोमा १४ वटाको मात्र फैसला भएको देखिएको उनले जनाए ।
अभियन्ता चरिमाया तामाङले मानव बेचबिखनविरुद्धको कार्यमा राज्य, समुदाय र सञ्चारमाध्यमको महत्वपूर्ण भूमिका रहेको बताए। पत्रकार मात्रिका पौडेलले मानव बेचबिखनविरुद्धको अभियानमा सञ्चारमाध्यमले महत्वपूर्ण भूमिका निर्वाह गरेको सचेतना र खबरदारीको भूमिका निर्वाह गर्ने बताए । रासस