काठमाडौं । म्यान्मारस्थित नेपाली राजदूतावासले २५६८औँ बुद्ध जयन्तीको अवसरमा दूतावास प्राङ्गणमा भगवान् गौतम बुद्धको मूर्तिको प्राण प्रतिष्ठा कार्यक्रम सम्पन्न गरेको छ । उक्त शुभ कार्यका लागि यांगुनस्थित वनारसी नेपाली विहारका नौ जना भिक्षुहरूलाई आमन्त्रण गरिएको थियो ।
कार्यक्रममा म्यान्मारका लागि अन्य देशका राजदूत, यांगुनस्थित कूटनीतिक नियोगका पदाधिकारीहरू, संयुक्त राष्ट्र संघका पदाधिकारीहरू, नेपाल धार्मिक गोर्खा संघका अध्यक्ष, म्यान्मार पर्यटन संघका अध्यक्ष, बोधगया तीर्थयात्रा कार्यसमितिका अध्यक्षलगायत नेपाली समुदायको उपस्थिति रहेको थियो । कार्यक्रममा म्यान्मारका लागि नेपालका राजदूत हरिश्चन्द्र घिमिरेले भगवान् बुद्धले देखाएको आठ सत्य मार्गहरूका बारेमा उल्लेख गर्दै यस पवित्र दिन संसार भरिका बुद्धधर्मावलम्बीहरू तथा सम्पूर्ण शान्तिप्रेमी मानवजातिका लागि महत्वपूर्ण रहेको बताए । राजदूत घिमिरेले उपस्थित सबैलाई बुद्धका उपदेशहरू पालना गरी शान्तिपूर्ण जीवन बिताउन आग्रह गरे ।
बुद्धको जन्मस्थल लुम्बिनी रहेको देश नेपाल र ९० प्रतिशत जनसंख्या बुद्धधर्मावलम्बी रहेको म्यान्मारबीच ऐतिहासिक सम्बन्ध रहेको विषयमा चर्चा गर्दै महामहिम घिमिरेले भगवान् गौतम बुद्धले दुई पटक म्यान्मार भ्रमण गरेको तथा बुद्धका केही कपालहरू यांगुनको स्वयडागन प्यागोडामा राखिएको र त्यहाँ राखिएका शाक्यमुनि बुद्ध, क्रकुछन्द बुद्ध तथा कनकमुनि बुद्धका तस्विरहरू नेपालबाट ल्याएर राखिएको बताए । कार्यक्रममा भिक्षुहरूले धर्मदेशना गर्नुका साथै राजदूतावासबाट भिक्षुहरूलाई चिवर दान समेत गरिएको थियो ।