काठमाडौं, असार २
हिमालय एयरलाइन्सले उद्धार चार्टर्ड उडानको तालिका र भाडादर सार्वजनिक गरेको छ । नेपालबाट अन्तर्राष्ट्रिय उडान भर्ने हिमालय एयरलाइन्सले जुन १६ देखि २० सम्म विदेशमा अलपत्र नेपाली फर्काउन गरिने चार्टर्ड उडानको तालिका र भाडादर सार्वजनिक गरेको हो । हिमालयले सार्वजनिक गरेको उडान तालिका अनुसार पहिलो उडान श्रीलंकाको कोलम्बो र माल्दिभ्सको मालेबाट हुनेछ । यो गन्तब्यमा पहिलो उडानको ३ सय ८० डलर तोकिएको छ । कोलम्बोबाट हुने दोस्रो उडानको भाडा ४ सय ८० डलर निर्धारण गरिएको छ ।
त्यसैगरी बङ्गलादेशको ढाकाबाट उडान गर्नका लागि १ सय ६५ डलर निर्धारण गरिएको छ । युएईको आबुधाबीको भाडा ३ सय ६५ डलर तोकिएको छ । त्यस्तै साउदी अरेबियाको दमामबाट ४ सय ६५ डलर तोकिएको छ । सिङ्गापुर र मलेसियाको क्वालालम्पुरका लागि ३ सय ७२ डलर भाडादर कायम गरिएको हिमालयले विज्ञप्तिमार्फत जनाएको छ । सरकारको निर्णयअनुसार कोभिड–१९ महामारीबाट विभिन्न मुलुकमा अलपत्र नेपालीलाई स्वदेश ल्याउने अनुमतिअनुरुप उडान तालिका बनाइएको हिमालयले जनाएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)लाई २४ र हिमालय एयरलाइन्सलाई १९ उडान गर्नेगरी अनुमति दिएको थियो । त्यस्तै २४ वटासम्म विदेशी एयरलाइन्सलाई उडान अनुमति दिइएको छ । नेपाल एयरलाइन्सको वाइड बडी जहाजले आइतबार बङ्गलादेशबाट २ सय ५८ नेपालीको उद्धार चार्टर्ड उडानमार्फत स्वदेश फर्काएको थियो ।