काठमाडौं । प्रभु बैंक लिमिटेड र यूएसएआईडी ट्रेड एन्ड कम्पेटिटीभनेबीच सम्झौता भएको छ । दुवै संस्थाहरूबीच दिगो विकासका लागि कृषि र पर्यटन उद्योगलाई सशक्त बनाउने सम्बन्धमा सम्झौता भएको हो ।
सम्झौताअन्तर्गत स्वदेशमै रोजगारी सिर्जना गर्न कृषि तथा पर्यटन व्यवसायीहरूको विकासमा सहयोग पुग्ने गरी ‘इम्पावरिङ एग्रो एन्ड टुरिजम इन्डस्ट्री फर सस्टेनेबल ग्रोथ फर फ्युचर नेपाल’ नामको परियोजना सञ्चालन गरिने भएको छ । यो परियोजना वाग्मती प्रदेशमा सञ्चालन गरिने भएको हो । सम्झौतापत्रमा यूएसएआईडीका प्रतिनिधि मार्क्स मुलर र बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले संयुक्तरूपमा हस्ताक्षर गरेका थिए ।
सम्झौताअनुसार नेपालको अर्थतन्त्रलाई दिगोरूपमा लघु, साना र मध्यम आकारका उद्यमको लागि वित्तीय उत्पादन र सेवाहरूमा उपलब्धता र पहुँच बढाउन, आर्थिक वृद्धिले पछाडि परेकाहरूका लागि दिगो रोजगारी वृद्धि र आयका अवसरहरूलाई प्रोत्साहन गर्न विशेषगरी कृषि र पर्यटन क्षेत्रहरूमा काम गर्ने साझा लक्ष्य रहेको छ ।