काठमाडौं । नेपालको पहिलो र अग्रणी भुक्तानी सेवा प्रदायक इ–सेवा प्रयोगकर्ताहरूको लागि जीवनबीमाको प्रिमियम भुक्तानी गर्दा विभिन्न उपहारहरू पाउने योजना ल्याएको छ । जसमा एक भाग्यशाली विजेताले बम्परमा दुबई ट्रिपका साथै अन्य थुप्रै उपहारहरू जित्ने मौका पाउने भएका छन् ।
कम्पनीका अनुसार यही जेष्ठ २० देखि असार ३१ सम्म चल्ने यो अफरमा इ–सेवासँग आबद्ध रहेका १२ वटा बीमा कम्पनीहरूमा जीवन बीमाको प्रिमियम भुक्तानी गर्ने प्रयोगकर्ताहरूले हरेक हप्ता आकर्षक उपहारहरू पाउनेछन् । हरेक हप्ता एक भाग्यशाली जोडीले सोल्टी होटल काठमाडौंमा एक दिन दुई रातको लागि प्याकेज पाउनेछन् भने पाँच भाग्यशाली विजेताले इ–सेवा केयर प्राप्त गर्नेछन् र बम्परमा छ दिन पाँच रातको लागि दुबई घुम्न जाने अवसर पाउनेछन् ।
यसका साथै विभिन्न जीवनबीमा कम्पनीहरूको प्रिमियम तिर्दा एक हजार रुपैयाँसम्म क्यासब्याक तथा अन्य आकर्षक उपहारहरू पाउन सक्नेछन् । यस योजनाको बारेमा इ–सेवाका प्रमुख व्यवसाय अधिकृत आशीष गौतमका भनाइअनुसार सरकारी नीतिगत तवरबाट नै डिजिटल भुक्तानीलाई प्राथमिकता र प्रोत्साहन गर्ने कुरा अघि बढिरहेको समयमा, डिजिटल भुक्तानी सेवा प्रदायक कम्पनीको दायित्व स्वरूप प्रयोगकर्ताहरूमा यसको महत्व र आवश्यकताबारे चेतना अभिवृद्धि गर्ने उद्देश्यले पनि यो अभियान सञ्चालन गरिएको हो । यसअन्तर्गत प्रयोगकर्ताहरूले इ–सेवामार्फत सजिलै आफ्नो जीवन बीमाको प्रिमियम भुक्तानी गर्दा विभिन्न उपहारहरू पाउने व्यवस्था गरी प्रयोगकर्ताहरूमा डिजिटल भुक्तानीतर्फ थप उत्साह सिर्जना हुने पनि बताएका छन् । इ–सेवा लिमिटेड सन् २००९ बाट सेवा दिइरहेको नेपालको पहिलो भुक्तानी सेवा प्रदायक कम्पनी हो ।