काठमाडौँ । जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान माहाशाखाले आगामी आइतबारसम्म देशभर मनसुन फैलिने सम्भावना रहेको जनाएको छ ।
आजसम्म मनसुन मुलुकको पूर्वी भू–भाग हुँदै लुम्बिनी प्रदेशसम्म पुगेको महाशाखाकी मौसमविद् प्रतिमा मानन्धरले बताएकी छिन् । समान्यतया जुन १३ मा मनसुन नेपाल भित्रिने भए पनि यसवर्ष जुन १० मा मनसुन मुलुकको पूर्व क्षेत्रबाट भित्रिन सुरु गरेको थियो । पश्चिमी वायुको प्रभावका कारण सुदूरपश्चिम तथा मुलुकको पश्चिमी क्षेत्रमा मनसुन फैलिन समय लागिरहेको उनले बताइन्।
आइतबारसम्म मुलुकभर मनसुन फैलिएपछि तातो हावाको लहरको जोखिम विस्तारै हट्दै जाने मौसमविद् मानन्धरले बताइन् । आगामी शनिबारसम्म कोशी र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको भन्दै महाशाखाले सतर्कता अपनाउन अनुरोध गरेको छ ।
माहाशाखाका अनुसार हाल देशको पूर्वी भू–भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ भने बाँकी भू–भागमा स्थानीय वायु तथा भारतको विहार आसपास रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ ।