काठमाडौँ । मेलम्ची खानेपानी विकास समितिले सिन्धुपाल्चोकको अम्बाथानस्थित मेलम्ची खानेपानी आयोजनाको सुरुङको मूलद्वार शुक्रबारदेखि बन्द गर्ने भनिएकामा तत्काल बन्द नगरिने जनाएको छ ।
मेलम्ची नदीको पानी नधमिलिएको हुनाले शुक्रबारदेखि आयोजना बन्द गर्ने तयारी गरे पनि सावधानी अपनाएर उपत्यकामा पानी पठाइने समितिले जनाएको हो ।
मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक रत्न लामिछानेले गत जेठ ३१ गते आयोजना बन्द गर्ने भनिएकामा ठूलो वर्षा नहुँदासम्म पानी बन्द नगर्ने निर्णय भएपछि निरन्तर सञ्चालन गरिएको बताए । बागमती प्रदेशमा मनसुन सक्रिय भएसँगै मनसुनजन्य विपद्बाट आयोजना जोगाउन सरकारले आयोजना बन्द गर्ने तयारी गरेको थियो ।
लामिछानेले परामर्शदाता तथा एसियाली बिकास बैंक (एडिबी) ले मनसुनी जोखिमबाट आयोजनालाई जोगाउन मेलम्ची बन्द गर्न सुझाव दिइरहेको बताए । उनले भने, “आजको अवस्था हेर्दा नदीमा पानीको बहाव बढेको छैन, नदी पनि सफा छ । तत्काल आयोजना बन्द गरिहाल्नुपर्ने अवस्था नदेखिएकाले सावधानी अपनाएर उपत्यकामा पानी पठाउने छौँ ।”
उनले भने, “उपत्यकामा मेलम्चीको पानी पठाउन कहिलेदेखि आयोजना बन्द गर्ने भनेर यकीन दिन तोक्दैनौँ, जहिलो ठूलो वर्षा भएर जोखिमको खतरा बढ्छ, तत्काल बन्द गर्नेछौँ ।”
मनसुनी जोखिम बढ्ने देखिएमा मनसुन सकिएपछि मात्रै उपत्यकावासीले फेरि मेलम्चीको पानी पाउने लामिछानेको भनाइ छ । समितिले मनसुन अवधिमा विपत्तीको जोखिम कम भएपछि मात्रै मेलम्चीको पानी पठाउन सुरु गर्ने तयारी गरेको छ । मनसुनजन्य विपत्तीबाट आयोजनाको हेर्डवक्समा हुनसक्ने सम्भावित क्षति न्यूनीकरण गर्न सरकारले वर्षा सुरु भएसँगै खानेपानी बन्द गर्ने र वर्षा सक्रिएपछि खोल्ने गर्दै आइरहेको छ ।