आम जनता पार्टी (आजपा)का अध्यक्ष प्रभु साहले नेपाली सेनाका रथी अशोकराज सिग्देलको उमेर विवादमा रक्षामन्त्री हरि उप्रेती र प्रधानसेनापति प्रभुराम शर्मासँग जवाफ माग गरेका छन् । रथी सिग्देलको उमेर विवादको विषय आर्थिक दैनिक पत्रिकाले बिभिन्न समयमा समाचारहरु सार्वजनिक गरेको थियो । आजको अङ्कमा पनि आर्थिक दैनिकले अवकास पाइसकेको हुनुपर्ने सिग्देल प्रधान सेनापतिको उम्मेदवार ? भन्ने शिर्षकमा समाचार बाहिर लिएको थियो । आजका मुल धारका अखबारहरुमा सेनाको बारेमा समाचारहरु बाहिर सार्वजनिक गरेका थिए । शुक्रबार प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै अध्यक्ष साहले नेपाली सेनाको आगामी नेतृत्वको रुपमा लिइएका रथि सिग्देलको उमेर विवाद रहेको भन्दै यस सम्बन्धमा प्रधानसेनापतिको जवाफ माग गरेका हुन् । नेपाली सेनाको छवि निस्कलंकित, निर्विवादित र उदाहरणीय हुनुपर्ने भए पनि रथिको उमेर विवादले नेपाली सेनाको छविमाथि आँच पु¥याएको उनको भनाइ थियो । रथिमाथि प्रश्न उठ्दा प्रधानसेनापति र रक्षामन्त्री चुप लागेर बस्न नमिल्ने पनि साहले तर्क गरे । ‘यसरी विवादित कुराहरु बाहिर आइराख्दा सम्बन्धित निकायले किन स्पष्ट गर्दैन ? हामी जान्न चाहन्छौँ । माननीय रक्षामन्त्रीको जवाफ चाहन्छौँ । यसरी देशको सम्मानित संस्थाको नेतृत्वमाथि यसरी प्रश्न उठिराख्दा तपाई चुप लाग्न मिल्दैन,’ उनले भने । सिग्देल गत वर्षको मंसिरमा रथीमा बढुवा भएका हुन् । उनीअघि रथीमा बढुवा हुन लागेका ताराध्वज पाण्डे नागरिकता किर्तेको विवादमा मुछिएपछि राजीनामा दिएका थिए । त्यसपछि रथीमा बढुवा भएका सिग्देलको पनि नागरिकता र शैक्षिक प्रमाणपत्रमा फरक फरक जन्ममति भएको आरोपसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको थियो । उनको जन्म २०२१ मा भए पनि २०२३ साल बनाइएको आरोप थियो । अख्तियारले आफ्नो क्षेत्राधिकार नभएको भन्दै रक्षा मन्त्रालयलाई छानबिन गर्न पत्र पठाएको थियो । मन्त्रालयको छानबिनमा भने उमेर विवाद नरहेको निष्कर्ष निकालिएको थियो । सिग्देल २०४३ फागुन ३ मा नेपाली सेनाको अधिकृत क्याडेट दर्जामा प्रवेश गरी २०४५ जेठ १९ मा नेपाली सैनिक प्रतिष्ठानबाट सहायक सेनानी भएका थिए ।