विराटनगर । राजस्व अनुसन्धान विभागले पछिल्लो समय सुनसरी मोरङ औद्योगिक करिडोरमा सञ्चालित हुँदै आएका केही मैदा उद्योगहरूमा छापा हान्दै बार्गेनिङ सफल भएपछि निर्वाधरूपमा उद्योग सञ्चालन गर्न छुट दिँदै आएको पाइएको छ ।
स्रोतका अनुसार सुनसरी मोरङ औद्योगिक करिडोरमा गत वर्षदेखि मात्रै सञ्चालनमा आएको सबैभन्दा कान्छो मैदा मिल स्वतिक मैदा उद्योगमा केही दिनअगाडि राजस्वले छापा हानेको थियो । सुनसरीको खनारमा रहेको सो उद्योगमा राजस्व अनुसन्धान विभाग र राजस्व अनुसन्धान कार्यालय इटहरीको संयुक्त टोलीले छापा मारेको थियो । उद्योग परिसरमा पुुगेको राजस्व अनुसन्धानको टोलीले उद्योगबाट विभिन्न खाताहरू, उद्योगमा जडान गरिएका सिसी क्यामेराका लिंक, अनलाइन बिलका कार्टेज र कम्प्युटरको सफ्टवेयर समेत जफत गरेको स्रोतले जनाएको छ । सुुनसरी मोरङ औद्योगिक करिडोरमा आठ वटा मैदा उद्योग सञ्चालन हुुँदै आएका थिए । एक वर्षअगाडि मात्रै स्वतिक मैदाले आफ्नो उत्पादन सुरु गरेको थियो ।
राजस्वसँगको सेटिङअनुसार स्वतिक मैदा उद्योगले काम नगरेकाले छापा हान्ने काम भएको दाबी समाचार स्रोहरूले गरेका छन् । स्वतिक मैदामा भएको राजस्वको घट्नाका कारण पछिल्लो समय कोरिडोरका सबै मैदा उद्योगीहरूले राजस्व अनुसन्धानको विभागदेखि सुुनसरीमा रहेको राजस्व कार्यालयसम्म कुरा मिलाएर मात्रै मैदा उत्पादन गर्नुुपर्ने भन्दै रणनीति बनाउन थालेको दाबी पनि स्रोतले गरेको छ ।
करिडोरमा सञ्चालित मैदा उद्योगदेखि गहुुँको खरिद बिक्रीमा समेत आफूलाई अब्बल साबित गर्ने गिरधारी अग्रवाल नाम गरेका एक व्यवसायी स्वतिक मैदा उद्योग सञ्चालन गर्दै आएका उद्योगी मुकेश अग्रवालका सहोदर भाइ भएको पनि जानकार उद्योगीहरूले बताएका छन् । उनै गिरधारी अग्रवाल इटहरी राजस्वमा सेटिङ मिलाउने काममा माहिर खेलाडी भएको उद्योगीहरूको भनाइ छ । तर राजस्व अनुसन्धान विभागले आफ्नै सहोदर भाई मुकेश अग्रवालको उद्योगमा छापा हानेर कागजात नियन्त्रणमा लिएको करिब एक महिना बित्न लाग्दा समेत मौन बसेपछि अहिले गिरधारी पनि शंकाको घेरामा परेको स्रोतहरूले बताएका छन् ।
स्वतिक मैदामा भएको राजस्वको छापा प्रकरणसँगै कोरिडोरका उद्योगी दाजु भाइ मुकेश र गिरधारी दुवै विवादमा तानिएको व्यवसायीले बताउन थालेका छन् । यसरी सामान्य कारोबार गर्ने व्यावसायिक प्रतिष्ठानमा पुगेर छापामारी कागजात नियन्त्रणमा लिएर व्यवसायीलाई तारिखमा राख्ने काममा सक्रिय भएको राजस्व अनुसन्धान पनि पछिल्लो समय कमाउ अभियान नै सञ्चालन गर्न व्यस्त रहेको बताउन थालिएको छ ।