लम्की (कैलाली) । चालु आर्थिक वर्ष २०८०/८१ को ११ महिनामा रु. नौ करोड ८० लाख ७८ हजार राजश्व कैलालीको सत्ती भन्सार कार्यालयले सङ्कलन गरेको छ । चालु आवमा १२ करोड एक लाख ४७ हजार राजश्व सङ्कलन गर्ने लक्ष्य सत्ती भन्सार कार्यालयले लिएको थियो । अबको १५ दिनमा उक्त लक्ष्यमा पुग्न मुश्कील हुने देखिन्छ । सत्ती भन्सार कार्यालयका प्रमुख दिनहरि सापकोटाले गत वर्षको तुलनामा यस वर्ष राजश्व बढ्ने बताए ।
गत आर्थिक वर्षमा सो भन्सार कार्यालयले १६ करोड ९४ लाख ४१ हजार राजश्व सङ्कलन गर्ने लक्ष्य लिएको थियो । प्रमुख सापकोटाले सो आवमा सात करोड ५० लाख ४० हजार मात्र राजश्व सङ्कलन भएको बताए । “यस वर्ष हामी लक्ष्य प्राप्तिको नजिक पुगेका छौैँ”, उनले भने ।
सत्ती भन्सार कार्यालयले प्रशासनिक सेवा शुल्कवाफत ६४ हजार, बेरुजुबाट एक लाख, एकलौटी फार्म तथा व्यक्तिगत आयमा लाग्ने करतर्फ ४१ हजार, अन्तःशुल्क आयातमा २३ लाख ११ हजार, भन्सार महशुल आयातमा पाँच करोड एक लाख, कृषि सुधार शुल्कमा एक लाख आठ हजार, भन्सार सम्बन्धी अन्य आयमा ६ लाख ३९ हजार, मुल्य अभिवृद्धि कर आयातमा चार करोड ४६ लाख ९७ हजार तथा हरित करबाट चार हजार राजश्व सङ्कलन भएको प्रमुख सापकोटाले बताए ।
सत्ती भन्सार भएर आयातको तुलनामा निर्यात शून्य रहेको छ । यस बाहेक जिल्लामा धनगढीस्थित त्रिनगर भन्सार कार्यालय रहेको छ । सो भन्सार भएर खाद्यान्न, लत्ताकपडा, दैनिक उपभोग्य सामग्री तेकुनियाँ भएर आयात गरिँदै आएको छ । खुला सीमाका कारण राजश्व सङ्कलनमा समस्या भएको प्रमुख सापकोटाको भनाइ छ ।