नयाँदिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अर्को साता रुसको भ्रमण गर्ने भएका छन् । जुलाई ८ र ९ मा रुसको भ्रमण गर्नेछन् । रुसले युक्रेनमा सैन्य आक्रमण थालेपछि मोदी पहिलो पटक रुस पुग्दैछन् ।
भारतीय प्रधानमन्त्री मोदी र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच मैत्रीपूर्ण भेटवार्ता हुने र अन्तर्राष्ट्रिय र क्षेत्रीय एजेन्डाबारे छलफल हुने बताइएको छ । युरोपले रुसी तेल आयात बन्द गरेका बेला भारतले खरिद बढाएको छ । यसै परिवेशमा मोदीको यो भ्रमणलाई महत्वका साथ हेरिएको छ ।
रुसी राष्ट्रपति पुटिनले भारतीय प्रधानमन्त्री मोदीलाई सम्भावित कूटनीतिक र आर्थिक सहयोगीकोे रुपमा लिने बताइएको छ । रुसले युक्रेनमाथि आक्रमण गरेपछि पश्चिममा रुस एक्लिँदै गएको छ ।
भारत युक्रेनको पक्षमा कट्टर समर्थक होइन । किनभने गत महिना स्विट्जरल्यान्डमा आयोजित एक शिखर सम्मेलनमा संयुक्त विज्ञप्तिमा भारतले हस्ताक्षर गर्न अस्वीकार गरेको थियो । सो विज्ञप्तिमा युक्रेनका क्षेत्रीय अखण्डताको सम्मान गर्न आह्वान गरिएको थियो ।
यसबाहेक प्रधानमन्त्री मोदीले भारतीय नागरिकहरू रुसी सेनामा सहायक नोकरीका लागि भर्ती भएको र युक्रेनसँग लड्न बाध्य बनाइएको बारे चासोका साथ कुरा गर्ने छन् । भारतले रुसी सेनामा आफ्ना नागरिक भर्ती भएको बारे ती नागरिकलाई रिहा गर्न दबाब दिएको दिइरहेको छ । भारतले आफ्ना नागरिकहरूलाई रुस–युक्रेन द्वन्द्वबाट टाढा रहन आग्रह गरेको छ । प्रधानमन्त्री मोदीले यसअघि २०१९को सेप्टेम्बरमा भारत–रुस वार्षिक शिखर सम्मेलनमा सहभागी हुन रुस भ्रमण गरेका थिए ।