सियोल । दक्षिण कोरियाको सामसुङ इलेक्ट्रोनिक्समा कार्यरत कामदारहरुको प्रतिनिधित्व गर्ने एक युनियनले अनिश्चितकालीन हडताल घोषणा गरेको छ । युनियनले यसअघि तीन दिने हडताल गरिरहेको युनियनले बुधबार हडताल अनिश्चितकालसम्म चल्ने घोषणा गरेको हो ।
समसुङ कम्पनीको इतिहासमा अहिले सबैभन्दा ठूलो श्रम अवरोध भइरहेको छ । चिप्स बनाउने विश्वकै केही प्रमुख कम्पनीमध्ये सामसुङ पनि एक हो र हडतालले विश्व बजारमा सामसुङको तर्फबाट आपूर्ति हुने चिप्सको व्यवस्थापनमा दबाब पर्ने बताइएको छ ।
कम्पनीले गतहप्ता ठूलो दोस्रो त्रैमासिक सञ्चालन मुनाफा वृद्धिको भविष्यवाणी गरेको थियो । नेसनल सामसङ इलेक्ट्रोनिक्स युनियनले एक विज्ञप्ति जारी गर्दै भनेको छ, ‘व्यवस्थापन कुरा गर्न इच्छुक नभएपछि हामी जुलाई १० देखि दोस्रो अनिश्चितकालीन आमहडतालको घोषणा गर्छाैँ ।’
सामसुङका कर्मचारीहरुले तलब र सुविधा बढाउन माग गर्दै लामो समयदेखि संघर्ष गर्दै आएका छन् । सोमबारदेखि सुरु भएको हडतालमा पाँच हजारभन्दा बढी कामदारले काम छोडेर सहभागी भएका छन् ।
आन्दोलनरत युनियनमा ३० हजारभन्दा बढी कर्मचारी आबद्ध छन् जुन कम्पनीको कुल कार्यबलको पाँच भागको एक भागभन्दा बढी हो । सामसुङले भने हडतालले उत्पादनमा कुनै असर नपर्ने जनाएको छ ।
युनियनले जनवरीदेखि नै व्यवस्थापनसँग वार्ता गरिरहे पनि दुवै पक्ष मतभेदलाई कम गर्न असफल भएका छन् । युनियनले यसअघि वार्षिक बिदामा सुधार र पारदर्शी कार्यसम्पादनमा आधारित बोनस र तलब वृद्धिको माग गरेको छ । सामसुङ व्यवस्थापनले गरेको पाँच दशमलव एक प्रतिशत तलब वृद्धिको प्रस्ताव युनियनले अस्वीकार गरेको छ ।