लन्डन, असार ८
बेलायतको ऋणले देशको पूरै अर्थतन्त्रको आकारलाई नै पछाडि छोडिदिएको छ । मे महिनामा सरकारले कीर्तिमानी ऋण लिएसँगै अर्थतन्त्रको आकारभन्दा ऋण ठूलो भएको बीबीसीले जनाएको छ । मे महिनामा मात्र ऋण ५५ अर्ब २० करोड पाउन्ड स्टर्लिङ पुगेको बताइएको छ । जुन अघिल्लो वर्षको सोही अवधिमा भन्दा नौ गुणा ठूलो हो । सन् १९९३ मा मापन सुरु भएयताकै उच्च विन्दुमा ऋण पुगेको हो । सरकारले ऋण लिएपछि कुल ऋण १९ खर्ब पाउन्ड पुगेको छ । ५० वर्षमा पहिलोपटक अर्थतन्त्रभन्दा ऋण ठूलो भएको बताइएको छ । कोरोना महामारीको असर सार्वजनिक वित्तमा परेको चान्सलर ऋषि सुनकले बताए । उनले सुरक्षित रुपमा अर्थतन्त्र पुनः खोल्नुपर्ने समेत बताए ।
मे महिनामा कर, राष्ट्रिय बीमा र मूल्यअभिवृद्धि कर सबै ओरालो लागेका छन् । खासगरी भाइरस फैलिएसँगै गरिएको लकडाउनको नकारात्मक प्रभाव अर्थतन्त्रमा गहिरोसँग परेको छ । अप्रिल र मे दुई महिनामा खर्च र आयको फरक अर्थात् घाटा नै १ खर्ब ३ अर्ब पुग्ने अनुमान गरिएको छ । जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा धेरै हो । राष्ट्रिय तथ्यांकको कार्यालयले यसअघि अप्रिलको बरोइङ अर्थात् सरकारले बजारबाट उठाउने ऋण सन् १९९३ यताकै उच्च भएको बताएको थियो तर पछि यसलाई पुनर्मूल्यांकन गरेर ६२ अर्ब पाउन्डबाट ४८ अर्ब पाउन्डमा झारिएको थियो । कर र राष्ट्रिय बीमाबाट सोचेभन्दा बढी आय भएका कारण पुनर्मूल्यांकन गरिएको बताइएको छ ।
बेलायतमा चारमध्ये एक जना खाद्य संकटको जोखिममा : अध्ययन
कोरोनाभाइरसबाट अत्यन्त प्रभावित देश बेलायतमा प्रत्येक चारमध्ये एक जना खाद्य संकटको खतरामा रहेको पाइएको छ । कोरोनाभाइरसबाट उत्पन्न महामारीका कारण खाद्य संकटको खतरा देखिएको अध्ययनकर्ताहरुले जानकारी दिएका छन् । खाद्य अवस्थाका बारेमा अनुसन्धानकर्ताहरुले प्रश्न गर्दा चारमध्ये एक जनाले खाद्य असुरक्षा महसुस गरिरहेको जवाफ दिएका थिए । खाद्य असुरक्षासँगै पौष्टिक आहारको अभाव हुने खतरा पनि उत्तिकै बढेको अनुसन्धानकर्ताहरुको निष्कर्ष छ ।
अध्ययनको मुख्य निश्कर्ष फिडिङ ब्रिटेन एण्ड नोर्थमब्रिया युनिभर्सिटीको हेल्दी लिभिङ ल्याबबाट प्रकाशित गरिएको छ । महामारीका बेलामा २५ प्रतिशत वयष्कहरुले खानाका लागि संघर्ष गर्नुपरेको पनि अध्ययन प्रतिवेदनमा उल्लेख गरिएको छ । त्यही कारणले खाद्य असुरक्षा महसुस गरिएको र पौष्टिक आहारको अभाव भएको बताइएको छ ।