काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले कर्जाको पुनर्तालिकीकरण भए धराशायी भएका उद्योगहरू बचाउन सकिने जनाएको छ । चेम्बरको प्रतिनिधिमण्डलले उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलसँग भेटी कर्जाको पुनर्तालिकीकरण गर्न सकिए उद्यमी व्यवसायीहरूमा ठूलो आत्मविश्वास सिर्जना गर्न सकिने र धेरै उद्यमी व्यवसायीलाई धराशायी हुनबाट जोगाउन सकिने बताएको हो ।
यस्तै, चेम्बरले अर्थमन्त्री पौडेललाई नीतिगत स्थायित्व र अर्थतन्त्रलाई चलायमान बनाउन ४० बुँदे सुझाव समेत पेश गरेको छ । चेम्बर अध्यक्ष कमलेश कुमार अग्रवालले आर्थिक गतिविधिमा आएको संकुचनले माग र आपूर्तिबीच असन्तुलन, निजी क्षेत्रको सम्पत्तिमा संकुचन एवं बैंक तथा वित्तीय संस्थामा तरलता भए पनि निजी क्षेत्रमा लगानीप्रति आकर्षण नभएकोप्रति अर्थमन्त्रीको ध्यानाकर्षण गराएका थिए । उनले भने, ‘अर्थतन्त्र शिथिलताबाटै गुज्रिरहेको छ । आर्थिक र वित्तीय क्षेत्रको निकासका लागि नीतिगत स्थायित्व र सरकारी संरक्षणको आवश्यक्ता छ ।’
कालोसूचीमा पर्न लागेका उद्यमी व्यवसायीहरूलाई उद्योग व्यवसायको प्रकृति हेरेर आवश्यक्ताअनुसार बैंक तथा वित्तीय संस्थासँगको आपसी विश्लेषणबाट केही समयका लागि कर्जाको पुनर्तालिकीकरण गर्न समेत चेम्बरले सरकारको ध्यानाकर्षण गराएको छ । भेटमा उपप्रधान एवं अर्थमन्त्री पौडेलले निजी क्षेत्रको मागलाई सम्बोधन गर्न सरकार प्रतिबद्ध रहेको बताएका थिए । वर्तमान सरकार राजनीतिक र आर्थिक स्थिरताका लागि बनेको भन्दै उनले शिथिल अर्थतन्त्रलाई चलायमान बनाउन सरकार प्रयासरत रहेको बताए । अर्थमन्त्री पौडेलले भने, ‘सरकारप्रति आशा र भरोसा गर्नुहोस, तत्काल गर्न सकिने काम यो बर्ष र बाकी विषयहरू बजेटमै सम्बोधन गरेरै भए पनि निजी क्षेत्रको मागलाई सम्बोधन गर्छौँ ।’ चेम्बरका निवर्तमान अध्यक्ष राजेन्द्र मल्लले घर जग्गा कर्जामा हाल कायम एक सय २५ प्रतिशतको जोखिम भारलाई १०० प्रतिशतमा झारिनुपर्नेमा जोड दिए ।