काठमाडौं । विश्वकै सर्वोत्कृष्ट टायरको रूपमा स्थापित योकोहामा टायर नेपाली बजारमा पनि भित्रिएको छ । अटो पार्ट्स इन्टरनेसनल (एपीआई)ले जापानी टायर कम्पनी योकोहामाका टायर नेपाल भित्र्याएको हो ।
नेपालका लागि आधिकारिक विक्रेता एपीआईले योकोहामाले उत्पादन गरेका टायरहरू बिक्री वितरण गर्नेछ । शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच योकोहामा टायर नेपाली बजारमा प्रवेश गरेको घोषणा गरिएको थियो । ‘डिलर मिट’मार्फत् सो टायरको ‘लन्च’ गरिएको थियो । योकोहामा इन्डियाका प्रबन्ध निर्देशक हरिन्दर सिंहले योकोहामा समूहका लागि नेपाल महत्वपूर्ण बजार रहेको भन्दै नेपालको भौगोलिक अवस्था र सडकअनुसार योकोहामाको टायर उपयुक्त र किफायती साबित हुने बताए । नेपालको भूगोलका लागि उपयुक्त टायर योकोहामा रहेको दाबी गरेका उनले नेपाललाई विश्वस्तरीय टायर उपलब्ध गराउने प्रतिबद्धता समेत जनाए ।
अटो पाट्र्स इन्टरनेसनल (एपीआई)का प्रबन्ध निर्देशक सगुन कंसाकारले नवीनतम र गुणस्तरका लागि विश्व प्रख्यात योकोहामासँग सहकार्य गर्न पाउँदा आफूहरूले सम्मानित महसुस गरेको बताए । नेपाली उपभोक्तालाई स्तरीय सेवा प्रदान गर्ने र नेपालको अटोमोबाइल क्षेत्रको विकासमा योगदान गर्ने लक्ष्य आफ्नो रहेको उनले बताए ।
एक सय सात वर्षको इतिहास बोकेको योकोहामाले आफ्नो उत्पादनमा सधैं उत्कृष्टता दिने गरेको छ । सन् १९१७ मा स्थापना भएको यस कम्पनीले उत्कृष्ट टायर बनाउनुका साथै डिजाइन र प्रविधिमा समेत जोड दिने गरेको छ ।