मुलुकको राजस्वमा सबैभन्दा बढी योगदान पु¥याउने वीरगञ्जस्थित वीरगञ्ज भन्सार कार्यालय र सुख्खा बन्दरगाह भन्सार कार्यालयले गत आर्थिक वर्षमा लक्ष्यअनुसारको राजस्व संकलन गर्न असफल भएका छन् ।वीरगञ्ज भन्सार कार्यालयले गत आवमा दुई खर्ब ४५ अर्ब ८८ लाख ५० हजार ८१ हजार रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य पाएको थियो । सो अवधिमा कार्यालयले लक्ष्यको ६४ दशमलव एक प्रतिशत अर्थात् एक खर्ब ५७ अर्ब ४० करोड ३१ लाख २८ हजार रुपैयाँ मात्रै राजस्व संकलन गरेको वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक डिलाराम पन्थीले जानकारी दिए । वीरगञ्ज भन्सार कार्यालयका साथै यहाँस्थित सुख्खा बन्दरगाह भन्सार कार्यालयले पनि गत आवमा लक्ष्यअनुसार राजस्व संकलन गर्न सकेनन् । भन्सार विभागले गत आवमा सुख्खा बन्दरगाहलाई ६५ अर्ब ९४ करोड एक लाख २२ हजार रुपैयाँ रकम राजस्व संकलन गर्ने लक्ष्य दिएको थियो । कार्यालयले वार्षिक लक्ष्यको ७१ दशमलव ७५ प्रतिशत अर्थात् ४७ अर्ब ३१ करोड एक लाख ९० हजार रुपैयाँ रकम राजस्व संकलन गरेको छ । उक्त कार्यालयले आव २०७९÷८० को तुलनामा चार अर्ब ९० करोड ७८ लाख ९७ हजार रुपैयाँ बढी राजस्व संकलन गरेको छ । दुवै भन्सार कार्यालयले गत आवको १२ महिनामध्ये कुनै पनि महिनामा लक्ष्य अनुसारको राजस्व संकलन गर्न नसकेका प्रमुख भन्सार प्रशासक पन्थीले बताए । ‘मुलुकको राजस्व प्रणाली आयातमुखी अर्थतन्त्रमा अडिएको छ । गत आवमा आयात वस्तु तथा सामानको कमी भएसँगै राजस्व संकलनमा पनि कमी आएको हो’, उनले भने, ‘अघिल्लो वर्षभन्दा गत आवमा १४ प्रतिशतले व्यापार घटेको छ । भन्सार कार्यालयको अन्य सूचक राम्रो हुँदा हुँदै आयात घटेपछि लक्ष्यअनुसारको राजस्व संकलन हुन नसकेको हो ।’ प्रमुख भन्सार प्रशासक पन्थीले आव २०७९÷८० को तुलनामा गत आवमा औद्योगिक क्षेत्रमा प्रयोग हुने कच्चापदार्थको आयात घटेकाले त्यसले राजस्व संकलनमा प्रत्यक्ष प्रभाव पारेको बताए । ‘गत आवमा विशेष गरी सवारीसाधन र कोइलाको आयात घटेको छ’, उनले भने । वीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष अनिलकुमार अग्रवालले सङ्घीय सरकारको नीतिका कारण लक्ष्यअनुसार राजस्व भेट्टाउन नसकिएको दाबी गरे । एकाधिकार ढङ्गको भन्सार मूल्यांकन पुस्तिका खारेज नभएकाले पनि लक्ष्यअनुसार राजस्व संकलन नभएको उनले बताए । ‘मुलुकका विभिन्न भू–भागमा उद्योग, व्यावसाय सञ्चालित छन् । औद्योगिक कच्चापदार्थ विदेशी मुलुकबाट आयात गर्नुपर्ने बाध्यता छ’, अग्रवालले भने, ‘आयात गर्दा तयारी वस्तु र औद्योगिक कच्चापदार्थमा दुई तहको भन्सार शुल्क तोक्नुपर्ने हुन्छ । त्यसो नहुँदा व्यवसायीले कच्चापदार्थ आयात गर्न सकिरहेका छैनन् । यसको प्रत्यक्ष असर राजस्व संकलनमा देखिएको हो ।’सवारीसाधनको आयात घट्योवीरगञ्ज भन्सार कार्यालय हुँदै आव २०७९÷८० मा ७१ जिप, कार र भ्यान आयात हुँदा २६ करोड २९ लाख १९ हजार रुपैयाँ राजस्व संकलन भएको थियो । गत आवमा ५९ वटा मात्रै जिप, कार र भ्यान आयात हुँदा कार्यालयले १९ करोड ४० लाख १४ हजार रुपैयाँ मात्रै राजस्व संकलन भएको जनाएको छ । अघिल्लो आवको तुलनामा गत आवमा सवारीसाधन आयातमा मात्रै २६ प्रतिशत राजस्व घटेको देखिन्छ । वीरगञ्ज भन्सार हुँदै आव २०७९÷८० मा चार करोड ८० लाख ४४ हजार पाँच सय ६० किलो कोइला तथा कोइलाजन्य वस्तु आयात हुँदा कार्यालयले १७ करोड सात लाख ९८ हजार रुपैयाँ राजस्व प्राप्त गरेको थियो । गत आवमा एक करोड एक लाख ७७ हजार नौ सय ८५ किलो कोइला आयात हुँदा कार्यालयले दुई करोड ८९ लाख ५० हजार रुपैयाँ राजस्व प्राप्त गरेको प्रमुख भन्सार प्रशासक पन्थीले जानकारी दिए । उनका अनुसार आयातित वस्तुमध्ये डिजेलले कुल राजस्वको ३४, पेट्रोलले १२ र एलपीजी ग्यासले तीन प्रतिशत हिस्सा ओगटेको छ । अध्यक्ष अग्रवालले उद्योगी÷व्यवसायीले अन्डर र ओभरिङ भ्वाइसिङ (भन्सार जाँचपास गर्दा खरिद गरेको वास्तविक मूल्यभन्दा कम रकम देखाउने) माध्यमबाट सामान आयात गर्नुपर्ने बाध्यता रहेको उल्लेख गरे । ‘सरकारले भारतको वस्तु तथा सेवा कर (जीएसटी)को हाराहारीमा भन्सार महसुल र करको दर तोक्ने हो भने भारतीय खुला सीमानाकाबाट हुँदै आइरहेको अवैध चोरी तस्करी पनि नियन्त्रण गर्न सकिन्थ्यो’, अध्यक्ष अग्रवालले भने । सरकारले भारतको तुलनामा जीएसटी कर लगाउँदा सीमा क्षेत्रमा हुने चोरी तस्करी आफैँ नियन्त्रणमा आउने उनको भनाइ छ । अध्यक्ष अग्रवालले सरकारले करको दायरा बढाउनेतर्फ केन्द्रित नभएको आरोप लगाए । ‘सरकारले करको दायरा बढाउने हो । यहाँ करको दर मात्रै बढाएर उद्योगी व्यवसायीलाई निचोरेर कसरी राजस्व बढ्न सक्छ ?’, उनले प्रश्न गरे । नेपाल–भारतबीचको खुला सीमा नाकाको फाइदा उठाउँदै अवैध माध्यमबाट वस्तु तथा सामान भित्रिँदा पनि राज्यले राजस्व गुमाउँदै आइरहेको उनले बताए । भन्सार विभागले सुख्खा बन्दरगाह कार्यालयलाई आव २०७९÷८० मा ६७ अर्ब ४३ करोड ८६ लाख ९४ हजार रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य निर्धारण गरेको थियो । सो अवधिमा ४२ अर्ब ४० करोड २२ लाख ९३ हजार रुपैयाँ अर्थात् ६२ दशमलव ८८ प्रतिशत मात्रै राजस्व संकलन भएको जनाइएको छ । रासस