काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक सदस्य नरबहादुर कर्माचार्यको आयोजित स्मृतिसभामा बुधबार नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू नेतृत्वको सरकार सुशासन कायम गर्दै बेदाग सत्ताबाट बाहिरिएको यथार्थलाई जनताले बुझेको बताएका छन् ।
उनले सुशासन, सामाजिक न्याय, आर्थिक समृद्धिको पक्षमा माओवादी नेतृत्व सक्रियतापूर्वक लागेका बेला अपारदर्शी ढङ्गले सरकार परिवर्तन भएको बताए । सरकारबाट देश र जनताको पक्षमा लिनुपर्ने पहललाई तीव्र बनाएर विजेताका रूपमा माओवादी बाहिर आएको बताए ।
राजनीतिक रूपमा माओवादीलाई राम्रो आधार बनेको हुँदा यसलाई सङ्गठनमा बदलेर पार्टीलाई एकताबद्ध गर्ने, नीति तथा योजनालाई जनमुखी बनाउने अध्यक्ष दाहालको भनाइ छ ।
माओवादीले मात्रै मुलुकको आर्थिक समृद्धिमार्फत समाजवादको आधार तयार गर्न सक्ने माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले बताए । माओवादी पार्टी सरकारको नेतृत्वबाट प्रतिपक्षमा पुगेको अवस्थालाई सहजै लिइएको उल्लेख गर्दै उनले सरकारमा रहनु र बाहिर आउनु ठूलो कुरा नभएको बताए । उनले सामाजिक आर्थिक रुपान्तरणको प्रक्रियालाई तीव्र बनाएर आर्थिक समृद्धि हासिल गर्दै समाजवादको आधार तयार गर्नुपर्ने बताए ।