काठमाडौं । ट्रस्ट माइक्रो इन्स्योरेन्स लिमिटेड र नेपाल क्लियरिङ हाउसबीच डिजिटल माध्यमबाट भुक्तानी गरी बीमालेख खरिद गर्न सकिने गरी सोमबार द्विपक्षीय सम्झौता भएको छ । ट्रस्ट माइक्रो इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत उज्वल ढुङ्गाना र नेपाल क्लियरिङ हाउसका प्रमुख कार्यकारी अधिकृत निलेशमान सिंह प्रधानले आज एक कार्यक्रमका बीच हस्ताक्षर गरी सम्झौता गरेका हुन् ।
उक्त सम्झौतापश्चात् ट्रस्ट माइक्रो इन्स्योरेन्स एनसीएचएलको नेसनल पेमेन्ट स्विचअन्तर्गतको पेमेन्ट इन्टरफेससँग जोडिने निर्जीवन माइक्रो इन्स्योरेन्स कम्पनी बन्न सफल भएको छ । त्यस्तै, यसले कम्पनीको आन्तरिक भुक्तानी प्रणालीलाई एनसीएचएल आईपीएस प्रणालीसँग जोडेर बीमा दाबी भुक्तानी, क्रेडिट नोट भुक्तानी, एजेन्ट कमिसन, सर्भे पेमेन्ट, तलब, भेन्डर भुक्तानीलगायत आफ्नो लगानीसम्बन्धी कारोबारहरू आबद्ध भएका बैंक खातामा सोझै गर्न सक्नेछ । सम्झौताले ट्रस्ट माइक्रो इन्स्योरेन्सलाई आफ्ना विभिन्न खाताहरूबाट भुक्तानी कारोबारहरू सहजै आफ्नो अपरेटिङ खातामा सार्न पनि मद्दत पुग्ने ट्रस्ट माइक्रो इन्स्योरेन्सका सूचना अधिकृत तथा सहायक प्रमुख कार्यकारी अधिकृत विश्वजन थापा श्रेष्ठले जानकारी दिए । यस सम्झौतासँगै ट्रस्ट माइक्रो इन्स्योरेन्स र नेसनल पेमेन्ट सिस्टममा औपचारिक आबद्ध हुने पहिलो लघु निर्जीवन कम्पनी भएको हो । थापा श्रेष्ठका अनुसार कम्पनीका सम्पूर्ण शाखा, उपशाखा तथा एक्सटेन्सन काउन्टरहरूबाट एनसीएचएल क्युआर भुक्तानीमार्फत पनि बीमालेख खरिद गर्न सकिने छ ।
बुटवलमा प्रधान कार्यालय रहेकोे ट्रस्ट माइक्रो इन्स्योरेन्सले नेपाल बीमा प्राधिकरणबाट झण्डै दुई दशमलव पाँच दर्जनभन्दा बढी शाखा, उपशाखा तथा एक्सटेन्सन काउन्टरको स्वीकृति लिई लघु निर्जीवन बीमा सेवा प्रदान गर्दै आएको छ । साथै, गत चैत्र महिनाबाट आधिकारिक कारोबार सुरु भएको पनि जानकारी गराए ।