काठमाडौ । उपप्रधान एवम् सहरी विकासमन्त्री प्रकाशमान सिंहले बागमती नदी किनारमा बनेका पूर्वाधार संरक्षण र प्रयोगमा ल्याउन निर्देशन दिएका छन् । बुधबार गुह्येश्वरीस्थित अधिकारसम्पन्न बाग्मती सभ्यता एकीकृत विकास समितिको कार्यालयमा पुगेर कामकारबाहीबारे जानकारी लिएपछि उनले निर्माण गरिएका संरचनाको संरक्षण र प्रयोगमा ध्यान दिन निर्देशन दिएका हुन् ।
‘ढल निकासका लागि संरचना त बन्छन् तर प्रयोगमा किन आइरहेका छैनन् ? यसलाई सच्याउनुपर्यो’, उनले भने, ‘तत्काल गर्न सकिने काम अहिले गरौँ । संरचना निर्माणसँगै त्यसको प्रयोगका विषयमा पनि ध्यान दिनुपर्यो ।’ गोकर्णेश्वरदेखि गुह्येश्वरीसम्म बनेका पार्कहरूको दुरावस्था रहेकाले तिनको संरक्षण र रेखदेखमा ध्यान दिन समितिलाई निर्देशन दिँदै उनले बागमतीमा बाहै्र महिना पानी बगाउनुपर्नेमा पनि जोड दिए । ‘बागमतीमा बाह्र महिना नै पानी बगाउनेबारे हामीले सोच्नुपर्छ । सम्बन्धित निकायसँग समन्वय गरेर त्यसलाई अघि बढाऔँ । बाधा अड्चन छ भने त्यसलाई हटाउनका लागि मन्त्रालय सहजीकरण गर्न तयार छ’, उनले भने । बागमतीभन्दा कुरुप भइसकेका नदीलाई विभिन्न देशले सुधार गरेर स्वच्छ पानी बगाएको उदाहरण दिँदै उनले बागमती नदीको स्वच्छता काम गर्न सरकारले प्रभावकारी योजना ल्याउने समेत धारणा राखे ।