काठमाडौँ । सिंहदरबारस्थित गृह मन्त्रालयमा सोमबार बिहान बसेको सङ्क्रमणकालीन न्यायसम्बन्धी गठित संयन्त्रको बैठक आगामी बिहीबार बस्ने गरी सकिएको छ । सोमबारको छलफलमा संयन्त्रका सदस्य नेपाली कांग्रेसका तर्फबाट गृहमन्त्री रमेश लेखक, एमालेका मुख्य सचेतक महेश बर्तौला र माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मा सहभागी भएका थिए ।
कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसिया, संसद्को कानुन, न्याय तथा मानव अधिकार समिति सभापति बिमला सुवेदी, महान्यायाधिवक्ता रमेश बडाललगायतको बैठकमा उपस्थिति रहेको थियो । आगामी बिहीबार फेरि बैठक बस्ने गरी सोमबारको बैठक सकिएको एमालेका मुख्य सचेतक बर्तौलाले जानकारी दिए ।
अहिलेसम्म भएका छलफलको मस्यौदा तयार पारेर आगामी दिनमा त्यसमाथि छलफल केन्द्रित गर्ने उनको भनाइ छ । उनले भने, “मूल ऐन, विधेयक र उपसमितिको प्रतिवेदन हेर्ने कुरा भएको छ । त्यसलाई एकीकृत गरी उठेका प्रश्नलाई पनि एकीकृत गर्ने कुरा भएको छ । सबै तयारी गरेर आगामी बिहीबार ८ बजे गृह मन्त्रालयमै बैठक बस्छौँ ।”
गृह मन्त्रालयमा गत शुक्रबार यसअघि बसेको संयन्त्रको बैठकमा सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयकमाथि सहमति जुटाउने विषयमा छलफल भएको थियो ।