काठमाडौं, असार ११
अनलाइन कारोबारको नाउँमा करोडौँ रुपैयाँ ठगी गर्ने व्यक्तिहरु पक्राउ परेका छन् । महानगरीय अपराध महाशाखाका टेकुुका अनुसार अनलाइनमार्फत ४० लाख रुपैयाँभन्दा बढी ठगी गर्ने व्यक्तिहरु पक्राउ परेका हुुन् ।
भाइबर, ह्वाटस अप, इमोलगायतका सोसल मिडियाहरुको दुरूपयोग गरी अनलाइनको माध्यमबाट ४० लाख रुपैयाँको चिठा परेको भनी प्रलोभन पारी ठगीमा संलग्न गिरोहलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । गिरोहले उच्चपदस्थ सरकारी अधिकृतलगायत सर्वसाधारण व्यक्तिहरू समेतबाट करोडौं रकम ठगी गर्ने गरेका थिए । नगदसहित अपराध महाशाखाको विशेष अनुसन्धान टोलीले उपत्यकाका विभिन्न स्थानहरूबाट सात जनालाई पक्राउ गरी आवश्यक अनुसन्धानको लागि महानगरीय प्रहरी परिसर, काठमाडौं पठाएको छ ।
पक्राउ पर्नेहरुमा झापाका पुकार बर्मा, काभ्रेका नविन भण्डारी, रौतहटका आकाश अग्रवाल, भारतीय नागरिक एमडी सर्फराज, रौतहटकै एस अग्रवाल, पर्साका कृष्ण प्रसाद साह र सुनिल साह रहेका छन् । उनीहरुले पीडितहरुबाट लाखौं रकम ठगी गरी पीडित बनाएका थिए । ठगी कार्यमा भारतीय गिरोह समेतको संलग्नता रहेको देखिन आएको र करोडभन्दा बढी रकम ठगहरूले लिइसकेको खुुलेको छ ।