काठमाडौं । सेयर बजार परिसुचक नेप्से २८ सय बिन्दु नजिक पुगेको छ । अघिल्लो दिन ३५ दशमलव ५५ अंकले उकालो लागेको बजार परिसुचक साताको चौंथो कारोबार दिन आज बुधबार पुन ६४ दशमलव २५ अंकले उकालो लागेर २७ सय ६० दशमलव ९० बिन्दुमा कायम रहन सफल भएको हो । यसैगरी क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि १० दशमलव ६५ अंकले उकालो लागेर चार सय ९६ दशमलव शुन्य तीन बिन्दुमा चढेको छ ।
धितोपत्र बजारमा आज तीन सय ३२ वटा कम्पनीहरुको दुई लाख ३८ हजार दुई सय ७२ पटक शेयर किनबेच भएको छ । जसबाट पाँच करोड नौं लाख ६७ हजार नौं सय ५१ कित्ता शेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम २१ अर्ब ९१ करोड १५ लाख तीन हजार एक सय ६१ रुपैंयाँ पुगेको छ । यो कारोबार पछिल्लो केही बर्ष भएको कारोबार रकम मध्येमा सबैभन्दा उच्च हो ।
धितोपत्र बजारमा आज १३ वटा उपसमुहहरुको शेयर कारोबार भएका छन् । जसमध्ये बाणिज्य बैक, बिकास बैंक, फाईनान्स, जलबिद्युत, जीवन बीमा, निर्जीवन बीमा सहितका १३ वटै उपसमुहहरुको सुचक उकालो लागेर शेयरबजार पुरै हरियो भएको छ ।