काठमाडौं । मुक्तिनाथ विकास बैंकको स्वतन्त्र सञ्चालकमा उमेशकुमार आचार्य नियुक्त भएका छन् । बैंक सञ्चालक समितिले बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन २०७३ को दफा १४ (३) बमोजिम आचार्यलाई बैंकको स्वतन्त्र सञ्चालकमा नियुक्त गरेको हो । करिब २० वर्षभन्दा बढी समय बैंकिङ क्षेत्रमा बिताएका आर्चायले तत्कालीन कामना विकास बैंकसहित विभिन्न वित्तीय संस्थामा १३ वर्ष प्रमुख कार्यकारी अधिकृतको रूपमा काम गरेका थिए । नेपालमा उनी एक बैंकिङ विज्ञको रूपमा परिचित छन् । साथै विभिन्न निकायमा नीतिगत परामर्शदाताको रूपमा कार्य गर्दै आएका छन् । उनले पोखरा विश्वविद्यालयबाट बिजनेस एडमिनिस्ट्रेसनमा स्नातकोत्तर तहमा अध्ययन गरेका छन् ।
बैंकले नेपालमै टिक्न सजिलो छ भन्ने नाराको साथ साना व्यापार तथा व्यवसायलाई प्रोत्साहन गर्न मुक्तिनाथ सरल कर्जा योजनाहरू ल्याएको छ । बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न प्रिपेड डलर कार्ड, मोबाइल बैंकिङ, क्युआर कोड, अनलाइन कर्जा आवेदन, अनलाइन खाता खोल्ने, इन्टरनेट बैंकिङ खातामै रेमिट्यान्स जम्मा तथा मिस्डकल बैंकिङजस्ता सेवाहरू बैंकको शाखामा भौतिकरूपमा उपस्थित नभई घरबाटै उपयोग गर्न सकिने व्यवस्था गरेको छ ।