काठमाडौं । विश्व स्तनपान सप्ताहको अवसरमा नेपाल मेडिकल कलेज(एनएमसी)मा स्तनपान सप्ताह सुरु गरिएको छ । बिहीबारबाट एक हप्तासम्म नेपाल मेडिकल कलेजमा स्तनपानसम्बन्धी सचेतना दिइनेछ । शिशु जन्मेको छ महिनासम्म स्तनपान मात्र गराउनुपर्ने र बच्चा दुई वर्षको हुन्जेलसम्म स्तनपान गराइरहनु पर्ने चिकित्सकहरूको भनाइ छ ।
कलेजका प्रबन्ध निर्देशक प्राडा जैनुद्धिन अन्सारीले आमा र बच्चा दुवैको लागि स्तनपान जरुरी रहेकाले आम सर्वसाधारणलाई सचेत गराउन कार्यक्रम गरिएको जानकारी दिए । विश्व स्तनपान सप्ताहको उद्घाटनमा प्राडा अन्सारीसँगै कलेजका हस्पिटल डाइरेक्टर प्राडा मोदनाथ मरहठ्ठा, स्त्री तथा प्रसुति रोग विभागकी प्रमुख डा रिता मरहठ्ठा, बालरोग विभागकी प्रमुख डा सविना श्रेष्ठ, मेट्रोन नविना सिंहलगायत विभागीय प्रमुख, नर्स तथा विद्यार्थीहरूको सहभागिता रहेको थियो । सप्ताहव्यापी कार्यक्रममा नवजात शिशुलाई किन आमाको दूध मात्र खुवाउनुपर्छ ? स्तनपानले आमा र शिशुको स्वास्थ्यमा कस्तो फाइदा गर्छ ? नियमित स्तननपान नगराउँदाका बेफाइदाहरूका बारेमा जानकारी दिइने छ ।