मकवानपुर, बागमती प्रदेशका नवनियुक्त प्रदेश प्रमुख दिपकप्रसाद देवकोटाले आज यहाँ आफ्नो पदभार ग्रहण गरेका छन् ।पदभार ग्रहण गर्दै प्रदेश प्रमुख देवकोटाले सङ्घीय सरकारले आफूलाई विश्वास गरेर प्रदेश प्रमुखको जिम्मेवारी दिएको बताउँदै उनले संवैधानिक दायराअनुसार इमान्दारीपूर्वक काम गर्ने बताए । उनले प्रदेश सरकार र स्थानीय तहसँग समन्वय, सहकार्य गरेर कार्यसम्पादन गर्ने उल्लेख गर्नुभयो । सो अवसरमा बागमती प्रदेशका निवर्तमान प्रदेश प्रमुख यादवचन्द्र शर्माले आफू रहँदा संवैधानिक निकायसँग समन्वय र सहकार्य गर्दै प्रदेश सरकार तथा स्थानीय तहसँग निरन्तर सम्पर्कमा रही सुशासन कायम राख्न काम गरेको बताए । नवनियुक्त प्रदेश प्रमुख देवकोटालाई मुख्यमन्त्री बहादुरसिंह लामा, प्रदेशसभाका सभामुख भुवनकुमार पाठक र निवर्तमान प्रदेश प्रमुख यादवचन्द्र शर्माले स्वागत गरेका थिए । राष्ट्रपति रामचन्द्र पौडेलले प्रदेश प्रमुख देवकोटालाई बिहीबार काठमाडौँमा पद तथा गोपनीयता शपथ ग्रहण गराउनुभएपछि आज पदभार सम्हाल्न हेटौँडा आइपुगेका हुन । सो अवसरमा बागमती प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रमुख सचिव गोविन्दबहादुर कार्की तथा विभिन्न मन्त्रालयका सचिव र सुरक्षा निकायका अधिकृतहरुको उपस्थिति रहेको थियो । बागमती प्रदेशका निवर्तमान प्रदेश प्रमुख यादवचन्द्र शर्मालाई आजै नवनियुक्त प्रदेश प्रमुख देवकोटाले हार्दिकतापूर्वक बिदाइ गरेका छन् । रासस