बाँके । जिल्लामा राप्ती नदीले भत्काएको तटबन्धन पुनःनिर्माण हुन नसक्दा दुई गाउँपालिकाका ६० हजारभन्दा बढी नागरिक डुबानको उच्च जोखिममा रहेका छन् । राप्तीसोनारी गाउँपालिका–७ खल्ला झगडियामा नदीको कटान तथा डुबान रोक्न निर्माण गरिएको अस्थायी तटबन्धन दुई वर्षअघि बाढीले भत्काएको थियो ।
उक्त तटबन्धन पुनःनिर्माण हुन नसक्दा राप्तीसोनारी–६ र ७ तथा नरैनापुर गाउँपालिका–६ मा गरी करिब ६० हजारभन्दा बढी नागरिक डुबानको उच्च जोखिममा रहेका नरैनापुरस्थित रेडक्रस गङ्गापुर उपशाखाका कोषाध्यक्ष सोहनलाल यादवले जानकारी दिए । उनका अनुसार पछिल्लो समय राप्तीमा जल सहत बढ्दै गएर नदी गाउँतिर सोझिँदै आएको छ । लगातार वर्षा हुनासाथ राप्तीको बाढी गाउँ पस्ने जोखिम बढ्दै गएको उनले बताए ।
डुबान समस्याबारे स्थलगत अवलोकनमा पुगेका प्रतिनिधिसभाका सांसद सूर्य ढकालले नदी प्रभावित राप्तीसोनारी र नरैनापुरवासीका गुनासो सुनेपछि दीर्घकालीनरूपमा समस्या समाधान गर्न सङ्घीय सरकारसँग छलफल गर्ने प्रतिबद्धता जनाएका थिए ।
खल्ला झगडियामा राप्ती नदीले तीव्ररूपमा कटान गरिरहेकाले ठूलो विपत्ति निम्त्याउन सक्ने अवस्थालाई मध्यनजर गरी तत्काल सरोकार भएका निकायको ध्यानाकर्षण गराउने उनले जानकारी दिए । ‘अहिले भएको वर्षाका कारण नदीले खेतीयोग्य जमिन कटान गर्दै बस्तीमा प्रवेश गर्ने अवस्था आइरहेको छ’, सांसद ढकालले भने, ‘नदीले तीव्र रुपमा कटान गर्दै धार परिवर्तन गर्नसक्ने जोखिम भएकाले बस्ती जोगाउन निरन्तर राज्यसँग पहल गरिरहेको छु ।’ राप्तीको तल्लोतटीय क्षेत्रमा पर्ने राप्तीसोनारी र नरैनापुर गाउँपालिकाको खेतीयोग्य जमिन नदीले दिनहुँजसो कटान गरिरहेको छ । अहिलेसम्म सयौँ बिघा खेतीयोग्य जमिन नदी कटानमा परिसकेको राप्तीसोनारी–७ नयाँबस्तीका शंकर यादवले बताए ।
उक्त समस्याको दीर्घकालीन समाधान खोज्न र अहिलेको जोखिम न्यूनीकरण गर्न राप्तीसोनारी र नरैनापुर गाउँपालिका, जनताको तटबन्धलगायत अन्य सरोकार भएका निकायमा जानकारी गराइएको बताउँदै हालसम्म मर्मतसम्भारको पहल नभएको उनले गुनासो गरे ।