फिक्कल (इलाम) । नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) को २५औँ स्थापना दिवसका अवसरमा ‘आदिवासी जनजाति योगदान पत्रकारिता पुरस्कार–२०८१’ बाट पत्रकार सुजता सुनुवार पुरस्कृत भएकी छिन् । आइतबार सदरमुकाममा आयोजित कार्यक्रममा पत्रकार सुनुवार रु. १० हजार राशिको पुरस्कारबाट पुरस्कृत भएकी हुन् ।
इलाम नगरपालिका प्रमुख केदार थापा, फोनिजका सङ्घीय उपाध्यक्ष कमन देवान, इलाम अध्यक्ष राम योङ्हाङलगायतले पुरस्कृत पत्रकार सुनुवारलाई दोसल्ला ओढाई सम्मानपत्र र चेक हस्तान्तरण गरे ।
स्थानीय इलामको रेडियो इलाम एफएमबाट २०६९ सालमा पत्रकारितामा क्रियाशील भएकी सुनुवार काठमाडौँको उज्यालो रेडियो नेटवर्कमा आबद्ध छन् । फोनिज इलामले स्थापना गरेको पुरस्कार हरेक वर्ष फोनिजको स्थापना दिवसका अवसरमा वितरण गर्दै आएको छ । सो पुरस्कारबाट यसअघि पत्रकारद्वय सटेन्द्र जवेगू र ज्ञानु केदेम पुरस्कृत भइसकेका छन् ।
तीन वर्षअघि ‘आदिवासी जनजाति योगदान पत्रकारिता पुरस्कार कोष’ खडागरी फोनिज इलामले पुरस्कार स्थापना गरेको थियो । फोनिज इलाम उपाध्यक्ष याम माबोहाङले पुरस्कार कोषबाट आदिवासी जनजातिका क्षेत्रमा कलम चलाउने बर्सेनि एक जना पत्रकारलाई पुरस्कार वितरण गर्ने गरिएको बताए ।