काठमाडौं, असार १४
नेपाल गुणस्तर तथा नापतौल विभागले नेपाल गुणस्तरअनुरुप उत्पादन नगर्ने छ उद्योगलाई कानुनी कारबाही गरेको छ । विभागले रिलायन्स सुपरटेक सिमेन्ट प्रालि बारा, इन्टरनेशनल सिमेन्ट प्रा.लि. पर्सा, एभरेष्ट ग्यास उद्योग प्रालि चाल्नाखेल काठमाडौँ, अग्नि सिमेन्ट उद्योग प्रालि रुपन्देही, सर्वोत्तम सिमेन्ट प्रालि नवलपरासी र कमला रोलिङ्ग मिल्स मोरङलाई कारबाही गरेको हो ।
जसमा रिलायन्स सिमेन्ट र इन्टरनेशनल सिमेन्टको इजाजतपत्र रद्द गर्नुका साथै एभरेष्ट ग्यास उद्योगको प्रमाणपत्र स्थगन गरेको छ । यस्तै, अग्नि सिमेन्ट, सर्वोत्तम सिमेन्ट र कमला रोलिङ्ग मिल्सलाई स्पष्टीकरण सोधेको छ । विभिन्न समयमा गरेको बजार अनुगमन तथा उद्योगको आकस्मिक निरीक्षणका क्रममा लिइएको नमूना संकलन प्रयोगशालामा जाँच गर्दा प्राप्त परीक्षणको नतिजा नेपाल गुणस्तरअनुरुप नपाएको भन्दै विभागले उक्त उद्योगहरुलाई शुक्रबार कारवाही गरेको हो ।
विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले नेपाल गुणस्तर मापदण्डअनुसार नरहेका उद्योगलाई नेपाल गुणस्तर (प्रमाण चिह्न) ऐन, २०३७ तथा नियमावली २०४० को नियम (१६) अनुसार कारबाही गरिएको बताए । विभागले बन्दाबन्दीको समयमा उपभोक्ता ठगी गर्ने उद्योग पहिचान गर्न केही दिन पहिला देशभरका झण्डै एक सय उद्योगबाट नमूना संकलन लिएको थियो ।