काठमाडौं, नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । बिहीबार बसेको निगम सञ्चालक समितिको बैठकले शुक्रबार बिहानदेखि लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्य घटाउने निर्णय गरेको हो । निगमले पेट्रोलको मूल्य प्रतिलिटर पाँच रुपैयाँ र डिजेल तथा मट्टीतेलको मूल्य प्रतिलिटर तीन रुपैयाँले घटाएको छ । निगमका अनुसार पहिलो वर्गअन्तर्गत पर्ने चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज क्षेत्रमा पेट्रोलको मूल्य प्रतिलिटर एक सय ६२ रुपैयाँ कायम गरेको छ । यसअघि प्रतिलिटर एक सय ६७ रुपैयाँ थियो । दोस्रो वर्गअन्तर्गत सुर्खेत र दाङ क्षेत्रका लागि प्रतिलिटर एक सय ६४ रुपैयाँ मूल्य तोकेको छ । यसअघि प्रतिलिटर एक सय ६९ रुपैयाँ थियो । यसैगरी तेस्रो वर्गअन्तर्गत पोखरा, काठमाडौं र दीपायल क्षेत्रका लागि प्रतिलिटर एक सय ६५ रुपैयाँ तोकेको छ । यसअघि प्रतिलिटर एक सय ७० रुपैयाँ मूल्य थियो । डिजेल र मट्टीतेलको मूल्य पहिलो वर्गका लागि एक सय ५५ रुपैयाँ रहेकामा एक सय ५२ रुपैयाँ कायम गरेको छ । साथै दोस्रो वर्गका लागि एक सय ५७ रुपैयाँ रहेकामा एक सय ५४ रुपैयाँ र तेस्रो वर्गका लागि एक सय ५८ रुपैयाँ रहेकामा एक सय ५५ रुपैयाँ कायम गरिएको निगमले जनाएको छ ।