काठमाडौं, असार १४
आशा लघुवित्त वित्तीय संस्थाले कोरोना नियन्त्रण कोषमा रकम सहयोग गरेको छ । संस्थाले स्थानिय निकायहरुले स्थापना गरेको कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा कुल पाँच लाख ३५ हजार रुपैयाँ सहयोग गरेको हो । विश्वब्यापी माहामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा आफ्नो ४६ वटा शाखा कार्यालय मार्फत छुट्टा छुट्टै स्थानिय निकायहरुले स्थापना गरेको कोषमा उक्त सहयोग गरेको संस्थाले जानकारी दिएको छ ।
संस्थाले संस्थागत सामाजिक उत्तरदायित्व, ग्राहक संरक्षण कोष तथा सम्पुर्ण कर्मचारीहरुको योगदान समेत रहने गरी उक्त रकम हस्तान्तरण गरेको जनाएको छ । त्यस्तैगरी वित्तीय संस्थाले विभिन्न शाखा कार्यालयहरु मार्फत अति विपन्न तथा न्यून आय भएका आफ्ना ग्राहक सदस्यहरुलाई मास्क, सावुन तथा स्यानिटाईजर समेत वितरण गरिएको र आवश्यकता अनुसार थप सहयोग समेत गर्दै जाने कुरा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत बद्री प्रसाद दुलालले जानकारी दिएका छन् ।
नेपाल राष्ट्र बैंकबाट ‘घ‘ वर्गको वित्तीय संस्थाका रुपमा स्वीकृत प्राप्त संस्थाले ‘बिपन्नका निम्ति आशा’ भन्ने मुल नाराका साथ ककनी ६ नुवाकोटमा केन्द्रीय कार्यालय स्थापना गरी २०७३ भदौ १५ गतेबाट कारोबार शुरु गरेको हो । संस्थाले २९ वटा जिल्लाहरुमा ५५ वटा शाखा कार्यालयहरु मार्फत करीब ५६ हजार सदस्यहरुलाई वित्तीय सेवा उपलब्ध गराऊदै आएको छ भने संस्थाको हालसम्म करीब दुई अर्ब ३० करोड रुपैयाँ कर्जा लगानीमा रहेको तथा सदस्यहरुबाट ७८ करोड भन्दा बढी निक्षेप समेत संकलन गरेको छ ।
संस्थाले चालू आर्थिक ब्याजको तेस्रो त्रैमासिक अवधिमा दुई करोड ९० लाख २६ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा संस्थाको यस्तो नाफा एक करोड ४५ लाख ५५ हजार रुपैयाँ रहेको थियो । चुक्ता पुँजी २३ करोड २२ लाख ८८ हजरा रुपैयाँ रहेको संस्थाले चालू आवको तेस्रो त्रैमासिक अवधिमा ७३ करोड तीन हजार आठ सय ३० रुपैयाँ निक्षेप संकलन गरी दुई अर्ब २६ करोड ४७ लाख १७ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा १० करोड ६४ लाख १४ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संंस्थाको प्रोभिजन रकम छ करोड ९४ लाख ५२ हजार रुपैयाँ रहेको संस्थामा चार दशमलव ४६ प्रतिशत कर्जा निष्क्रिय रहेको छ ।
गत आवको सोही अवधिमा भने संस्थाले ४० करोड १७ लाख ५५ हजार रुपैयाँ निक्षेप संकलन गरी एक अर्ब ५८ करोड १९ लाख ४४ हजार रुपैयाँ कर्जा प्र्रवाह गरेको थियो । उक्त अवधिमा सात करोड ८१ लाख ६५ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संंस्थामा दुई दशमलव ६७ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो ।