काठमाडौं,सर्वोच्च अदालतले नेपाल प्रहरीमा ३० वर्षे सेवा हद कार्यान्वयन नगर्न अन्तिरिम आदेश दिएपछि गृह मन्त्रालयमा हलचल मच्चिएको छ । नेपाल प्रहरी ऐनको विधेयक मस्यौदामा काम भइरहेका बेला सर्वोच्चबाट यस्तो आदेश आएको हो ।
अहिलेकै अवस्थामा एकैपटक ३० वर्षे सेवा हद हट्यो भने ३ ब्याचबाट कुनै पनि अधिकृत प्रहरीको नेतृत्वमा पुग्ने छैनन् । प्रहरी मुख्यालय स्रोतका अनुसार डीआईजी दानबहादुर कार्कीसहितको १११ औं ब्याच, एसएसपी विश्व अधिकारीसहितको ११२ औं ब्याच र एसपी रमेश थापासहितको ११४ औं ब्याचबाट नेतृत्वमा पुग्ने ढोका बन्द हुनेछ ।त्यस्तै, २०७० चैत ९ गते प्रहरी इन्सपेक्टरमा भर्ना भएका १४७ जना मध्येबाट ४० प्रतिशत मात्रै डीएसपीमा बढुवा हुनेछन् । बाँकी ६० प्रतिशत इन्सपेक्टरले करिब ६ वर्षसम्म आफ्ना ब्याचीभन्दा मुनि बसेर ड्युटी गर्नुपर्ने अवस्था सिर्जना हुनेछ ।
नेपाल प्रहरीमा ३० वर्षे सेवाअवधि हटाउन माग राख्दै सर्वोच्च अदालतमा दायर भएको रिटमा अन्तरिम आदेशको विवरण छ।आगामी भदौ १६ गते अवकाशमा जान लागेका प्रहरी अधिकृतहरूले दायर गरेको रिटमा बिहीबार आज सुनुवाइ गर्दै न्यायाधीश हरिप्रसाद फुयाँलको एकल इजलासले उक्त आदेश जारी गरेको हो ।
