काठमाडौं । विश्वका विभिन्न देशबीच चलेको द्वन्द्वको कारण थप युद्ध हुने त्रासले सुनको मूल्य विश्वबजारमै वृद्धि हुनगएको छ । त्यसको प्रत्यक्ष मारमा नेपाली उपभोक्ता पनि परेका छन् ।
रुस र युक्रेनबीचको युद्ध चलिरहेको बेला इजरायललाई उसका छिमेकी देशहरू आक्रमण गर्ने त्रास बढेको छ । इजरायलमा आक्रमण भएमा विश्वका विभिन्न देशहरू थप विभाजित हुने र त्यसले युद्धको रूप लिने आशंका गरिएको छ । विश्वयुद्धमा गएमा मानिसहरूले सुरक्षित लगानीको रूपमा सुनलाई लिनेभएको कारण धेरैले अहिले सुनमा लगानी बढाएका हुन् ।
‘युद्ध भयो भने कुन देशको पैसाको मूल्य के हुन्छ थाहा छैन’, एक सुनचाँदी व्यवसायीले भने, ‘त्यसैले विश्वभर सुनमा लगानी बढ्दा नेपालमा पनि बढेको हो ।’ विश्वभर सुनको मूल्यमा गत साता पनि नयाँ रेकर्ड कायम भयो ।
साताको चोथो दिन बुधबार रेकर्ड कायम गरेको मूल्यले पाँचौँ दिन बिहीबार पनि पुनः ऐतिहासिक रेकर्ड कायम गरेको हो । अन्तर्राष्ट्रिय बजारमै ती दिन सुनको मूल्यमा वृद्धि भयो ।
नेपाली बजारमा साताको पहिलो दिन अघिल्लो आइतबार प्रति १० ग्राम एक लाख ३० हजार छ सय ६० रुपैयाँ रहेको सुनको मूल्य साताको चौथो दिन बुधबार उच्च रेकर्ड राख्दै प्रति १० ग्राम एक लाख ३१ हजार दुई सय ६० रुपैयाँ पुग्यो । त्यस पछि बिहीबार पुनः अर्को रेकर्ड कायम गर्दै प्रति १० ग्रामको मूल्य एक लाख ३१ हजार तीन सय ४५ रुपैयाँ पुग्यो ।
साताको पछिल्लो कारोबार भएको दिन शुक्रबार भने मूल्य सामान्य घटेर प्रति १० ग्राम एक लाख ३१ हजार ८५ रुपैयाँ कायम भयो । यो मूल्य साताको पहिलो दिनको तुलनामा पछिल्लो कारोबार भएको दिन शुक्रबार प्रति १० ग्राम चार सय २५ रुपैयाँ बढी हो । अघिल्लो साता नेपाली बजारमा चाँदीको मूल्य सामान्य घटेको छ । साताको पहिलो दिन आइतबार प्रति १० ग्राम एक हजार पाँच सय ८६ रुपैयाँ रहेको मूल्य साताको पछिल्लो कारोबार भएको दिन शुक्रबार प्रति १० ग्राम एक हजार पाँच सय ६० रुपैयाँ ५० पैसा भयो ।