काठमाडौं । भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले सहकारी क्षेत्रको कडा नियमन गर्ने बताएका छन् । नेपाल सहकारी पत्रकार समाजको १४औँ स्थापना दिवसको अवसरमा बुधबार आयोजित कार्यक्रममा उनले सहकारीमा आएका समस्यालाई समाधानका लागि सरकार अहिले लागि परेको बताए ।
सहकारी क्षेत्रमा देखिएका समस्या तत्कालै समाधान गर्न नसकिने भए पनि विस्तार सुधार हुँदै जाने उनको भनाइ थियो । ‘सहकारी क्षेत्रलाई व्यवस्थित बनाउन हामीले नियामक निकाय स्थापना गर्ने कार्य अगाडि बढाएका छौँ । यसका लागि कानुन बन्दैछ’ उनले भने, ‘यो निकाय कस्तो बनाउने भनेर ऐनको मस्यौदा मन्त्रिपरिषद्मा लिँदैछौँ ।’ यस्तै उनले अहिले यो क्षेत्रमा देखिएको अविश्वासमा विश्वसनीयता बढाउनुपर्नेमा जोड दिए । पछिल्लो समय जनमानसमा सबै सहकारी खराब छन् भन्ने हल्ला र भ्रम फैलाइएको उनको भनाइ थियो । ‘सहकारीमा एकै प्रकृतिका मानिस छैनन् । कोही सानो बचत गर्ने, कोही ठूलो ठूलो बचत गर्ने, कोही आन्दोलनका लागि मात्र पनि सहकारीमा प्रवेश गरेका छन्’, उनले भने, ‘सबैको स्वार्थ एउटै छैन ।’
कार्यक्रममा सहकारी विभागका रजिस्ट्रार पिताम्बर घिमिरेले सहकारी क्षेत्रमा अहिले संवेदनशील अवस्थामा रहेको बताए । कार्यक्रममा समाजले सहकारीको पुरुत्थान विषयमा सीजेएन स्मारिका पनि विमोचन गरेको छ । समाजले आफ्नो १४औँ स्थापना दिवसको अवसरमा ‘सीजेएन राष्ट्रिय पत्रकारिता पुरस्कार’ विजय पराजुलीलाई प्रदान गरेको छ । पराजुलीले २५ हजार रुपैयाँ राशिको पुरस्कार पाएका छन् । यस्तै, समाजको १४औँ स्थापना दिवसमा संस्थापक सम्मानबाट पत्रकार मदन कोइराला सम्मानित भएका छन् ।