दोधारा चाँदनी (कञ्चनपुर) । प्रेस युनियन कञ्चनपुरद्वारा बिहीबार महेन्द्रनगरमा आयोजित पत्रकार सम्ममेलनमा गृहमन्त्री रमेश लेखकले कञ्चनपुरको दोधारा चाँदनीलाई सबैभन्दा ठूलो नाकाका रुपमा विकास गर्ने सकारको लक्ष्य रहेको जानकारी दिएका छन् ।
“कञ्चनपुरलाई त्रिदेशीय नाका बनाउने कुरा अघि बढिसकेको छ”, उनले भने, “निकट भविष्यमा नै दार्चुलाको तिङ्करमा अध्यागमन कार्यालय स्थापना गर्ने निर्णय भएको छ यसले चीनसँग जोड्छ ।” उनले दोधारा चाँदनी सुक्खा बन्दरगाह निर्माण गर्न छिमेकी मुलुक भारत तयार रहेको बताए ।
“दुई/तीन महिनाभित्रै सुक्खा बन्दरगाह निर्माणका लागि भारतले बोलपत्र आह्वान गर्छ”, गृहमन्त्री लेखकले भने, “चाँडै सुक्खा बन्दरगाहको काम अघि बढ्नेछ ।” पत्रकार सम्मेलनमा उनले संसद्मा भएका दुई ठूला दलबीच सहमति भएर नयाँ राजनीतिक समीकरण बनेको जनाउँदै सहमति कार्यान्वयनमा शङ्का नगर्न आग्रह गरे ।
पत्रकार सम्मेलनमा गृहमन्त्री लेखकले निर्मला पन्त हत्या प्रकरणको सुक्ष्म रुपमा अनुसन्धान हुने पनि जानकारी दिए “यो प्रकरण मैले गम्भीरताका साथ लिएको छु । यो घटनाको सुक्ष्म ढङ्गले अनुसन्धान हुन्छ”, उनले भने । कञ्चनपुरको भीमदत्त नगरपालिका–२ उल्टाखामकी १३ वर्षीया बालिका निर्मला पन्तको २०७५ साउन १० मा बलात्कारपछि हत्या भएको थियो । घटना भएको छ वर्ष पुग्न लाग्दा पनि अपराधी पत्ता लाग्न सकेको छैन ।