ललितपुर । विश्व सम्पदा सूचीमा सूचीकृत पाटन दरबार क्षेत्रमा अवस्थित देगु तलेजु मन्दिर नौ वर्षअघिको भूकम्पले भग्नावशेष बनाएको थियो । अहिले सो मन्दिरको पुन:निर्माण सम्पन्न भएको छ ।
पाटन स्मारक संरक्षण तथा दरबार हेरचाह कार्यालयका प्रमुख लीला पाठकले भूकम्पपछि जिर्ण अवस्थामा रहेको एतिहासिक देगु तलेजु मन्दिरको बाहिरी भागको काम सकिएको र दोस्रो चरणमा भित्रको काम चलिरहेको जानकारी दिएका छन् । भित्री भागको काम पूरा भएपछि क्षमापूजा गरेर उद्घाटन हुने जानकारी दिँदै उनले भने, “मल्लकालीन मन्दिर मौलिक शैलीमा पुनःनिर्माण गरिएको छ ।”
ललितपुरका अधिकांश सम्पदाको पुन:निर्माण पूरा भएको छ भने केही निर्माणाधीन छन् । ललितपुरको सबैभन्दा ठूलो र अग्लो मन्दिरका रूपमा परिचित देगु तलेजु मन्दिर पुनःनिर्माणका लागि जापान सरकारले १३ करोड सहयोग गरेको हो ।