काठमाडौं । कुमारी बैंकको देशैभर वित्तीय साक्षरता प्रवर्द्धनका लागि प्रशिक्षक–प्रशिक्षण सम्पन्न भएको छ । युसएडसँगको सहकार्यमा देशैभरि वर्षैभरि अभियानकै रूपमा वित्तीय साक्षरता प्रवर्द्धन गरी विभिन्न स्थानमा रहेका व्यावसायिक एवं उद्यमशील सोचलाई औपचारिक वित्तीय संयन्त्रमा आकर्षित गर्ने उद्देश्यले बैंकले सबै प्रदेशमा वित्तीय साक्षरता प्रवर्द्धनका लागि प्रशिक्षक प्रशिक्षण गर्ने काम सम्पन्न गरेको हो ।
वित्तीय ज्ञान, सीप, मनोवृद्धि तथा व्यवहार विकासबाट मात्रै व्यावहारिकरूपमा वित्तीय साक्षरता प्रवर्द्धन हुने विश्वास लिएको कुमारी बैंकले यस अभियानमा सर्वसाधारणको विषयगत संवेदनशीलतालार्ई सहजै बुझ्न सकिने गरी वित्तीय साक्षरता पुस्तिका, कुमारीजी एप, राष्ट्रियस्तरमा ख्यातिप्राप्त कलाकारहरूको अभिनयसहितका सन्देशमूलक भिडियोहरू, सचेतनामूलक सन्देशहरूको विकास गरी नियमितरूपमा प्रकाशन तथा प्रसारण समेत गरिरहेको छ । स्थानीयस्तरमा प्रशिक्षक प्रशिक्षणले आगामी दिनमा समुदायमा आधारित वित्तीय साक्षरता सामग्री विकास गरी समाजमा रहेका व्यावसायिक एवं उद्यमशील सम्भावनालाई प्रवर्द्धन गर्दै उद्यमशीलता विकासमा टेवा पुग्ने विश्वास बैंकले लिएको छ ।
विगत २३ वर्षदेखि निरन्तर बैंकिङ सेवा दिँदै आएको बैंकले अनवरतरूपमा वित्तीय साक्षरता प्रवर्द्धन गर्दै आएको छ । बैंकले हाल देशभर रहेका तीन सय दुई वटा शाखा सञ्जाल, तीन सय १४ वटा एटीएम, ५० एक्सटेन्सन काउन्टर तथा ५७ शाखारहित बैंकिङ इकाईमार्फत आफ्ना ग्राहकलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरू प्रदान गर्दै आइरहेको छ । आगामी दिनहरूमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरू गर्दै जाने प्रतिबद्धता बैंकले जनाएको छ ।