काठमाडौं । एनसेलले कपिलवस्तुको बाणगंगा नगरपालिका, वडा नं ४ ठाकुरापुरमा निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको छ । कम्पनीले प्रदेशस्तरमा सञ्चालन भइरहेको आफ्नो सामाजिक उत्तरदायित्वका कार्यक्रमअन्तर्गत गत हप्ता ठाकुरापुरमा शिविरको आयोजना गरेको हो ।
शिविरमा तीन सयभन्दा बढी स्थानीयले निःशुल्क स्वास्थ्य परामर्श तथा सेवाको लाभ लिएका थिए । नेपाल हृदयरोग निवारण प्रतिष्ठानसँगको सहकार्यमा आयोजना गरिएको शिविरमा मानिसहरूले मुटु रोगसम्बन्धी विशेषज्ञ डाक्टरबाट मुटु रोगलगायत अन्य विभिन्न रोगका विशेषज्ञसँग परामर्शलगायत ईसीजी, मधुमेह तथा रक्तचापको जाँच सेवाका साथै आवश्यक निःशुल्क औषधिहरू पाएका थिए । स्वास्थ्य शिविरले स्वास्थ्यसम्बन्धी केही समस्या भए पहिल्याउँदै समयमा नै निवारक स्वास्थ्य सेवाहरूका साथ समस्यासँग जुध्न मद्धत गर्ने कम्पनीले जनाएको छ ।
एनसेलले आफ्नो व्यावसायिक सामाजिक जिम्मेवारी (सीएसआर)अन्तर्गत कपिलवस्तुमा सञ्चालन गरेको यो दोस्रो निःशुल्क स्वास्थ्य शिविर हो । यसअघि कपिलवस्तुको मायादेवी गाउँपालिका, वडा नं. ३, फुलिका स्वास्थ्य चौकीमा यसै किसिमको निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको थियो । यसका साथै एनसेलले कपिलवस्तुका अन्य तीन विकट क्षेत्रमा निःशुल्क स्वास्थ्य शिविर आयोजना गर्नेछ । एनसेलले सीएसआरअन्तर्गत सातै प्रदेशमा विभिन्न सामाजिक विकासका आयोजनाहरू सञ्चालन गरिरहेको छ ।
कम्पनीले गत वर्ष आफ्नो १८औँ वार्षिकोत्सवको अवसरमा ‘एटीन फर एटीन’ अर्थात् १८ औं वर्षको लागि १८ वटा सामाजिक पहलहरूका लागि आवेदन खुला गरेको थियो । यसै पहलअन्तर्गत सातै प्रदेशमा विकास कार्यहरू कार्यान्वयन भइरहेका छन् । यस ‘एटीन फर एटीन’ कार्यक्रमअन्तर्गत परियोजना सञ्चालन गर्नका लागि प्रतिपरियोजना १० लाख रुपैयाँ आर्थिक सहायता प्रदान गरिएको छ । यस्तै, कम्पनीले विभिन्न क्षेत्रका सामाजिक परियोजनामा दुई अर्बभन्दा बढी योगदान गरिसकेको जनाएको छ ।