धरान (सुनसरी) । इटहरी उपमहानगरपालिकाले नगरवासीको सुविधालाई दृष्टिगत गरी बुधबारदेखि चारवटा विद्युतीय बसबाट सेवा सुरु गरेको छ ।
सडक सञ्जाल विस्तार भए पनि इटहरीका सबै क्षेत्रमा सार्वजनिक यातायात नियमित रूपमा उपलब्ध नभएकाले नगरवासीको यात्रालाई सुविधाजनक बनाउने प्रयासस्वरुप सेवा प्रारम्भ् भएको भन्दै इटहरी उपमहानगरपालिकाका प्रमुख हेमकर्ण पौडेलले इटहरीका चारवटै क्षेत्रलाई समेटेर बस सञ्चालनको ‘रुट’ तयार गरी सेवा सुरु भएको बताए ।
गत साउन २२ गते छ करोड ३६ लाख ८६ हजारमा उपमहानगरपालिकाले खरिद गरेको यो बसमा अपाङ्गता भएका व्यक्तिहरू पनि सहजरूपमा यात्रा गर्नसक्ने छन् । नगर क्षेत्रमा बिहान ७ बजेदेखि ११ बजेसम्म र अपराह्न २ बजेदेखि साँझ ७ बजेसम्म नियमित सञ्चालन गरिने छ । उक्त सेवाका निम्ति हाललाई बस भाडा रु. २० तोकिएको छ ।