काठमाडौं । एनएमबी बैंक लिमिटेड, डीभी एक्सेलस प्रालि(खेती एप) र बागमती गाउँपालिका मकवानपुरबीच गाउँपालिकाका किसान तथा कृषि व्यवसायमा संलग्न व्यक्तिलाई एनएमबी डिजिटल कर्जा (खेती कर्जा) प्रवाह गर्ने सम्बन्धमा त्रिपक्षीय सम्झौता भएको छ । सम्झौतापत्रमा बैंकको तर्फबाट लघुवित्त तथा एमएसएमई प्रमुख डा. बुद्धि मल्ल, डीभी एक्सेलस प्रालिको तर्फबाट सह–संस्थापक न्युराज कार्की र गाउँपालिकाको तर्फबाट अध्यक्ष सर्केश घलानले हस्ताक्षर गरेका छन् ।
एनएमबि बैंक र डीभी एक्सेलस प्रालिबीच खेती एपमार्फत किसान तथा कृषि व्यवसायमा संलग्न व्यक्तिलाई पूर्णरूपमा डिजिटल कर्जा प्रदान गर्नका लागि सम्झौता भएबमोजिम एनएमबी खेती कर्जा प्रदान गर्दै आइरहेकोमा बागमती गाउँपालिकाले कृषि व्यवसायमा संलग्न व्यक्तिलाई यस डिजिटल कर्जामार्फत उनीहरूलाई कर्जा लगानी सहज बनाएर कृषकहरूको आर्थिक अवस्था वृद्धि गर्नका लागि तीनै वटा संस्था मिली वित्तीय साक्षरता कार्यक्रमहरू सञ्चालन गर्ने, प्राप्त गर्न योग्य किसानलाई कर्जा कर्जाको लागि सहजीकरण गर्ने, ऋणीलाई अन्य विभिन्न खालका परामर्श सेवाहरू प्रदान गर्ने तथा कर्जा असुलीमा पनि सहयोग गर्ने जस्ता विषयमा सहमति भएको छ ।
कार्यक्रममा गाउँपालिकाका अध्यक्ष सर्केश घलानले गाउँपालिकाका किसानलाई कृषि व्यवसायमा उत्प्रेरित गर्नको लागि विभिन्न कार्यक्रमहरू गरिरहेको र आफूले भरसक अझै बढी सहयोग गरेर कृषि व्यवसायलाई आधुनिकीकरण गर्ने र कृषि व्यवसायद्वारा गाउँपालिकाका ऋणीलाई वित्तीय अनुशासनमा रहेर व्यवसाय गर्न लगाई एउटा उदाहरणीय गाउँपालिका बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष र केही वडाका अध्यक्षहरू, कृषि अधिकृतलगायत अन्य अधिकृतहरूको समेत उपस्थिति रहेको थियो ।
अघिल्लो वर्ष बागमती र गण्डकी प्रदेशमा सुरु गरिएको एनएमबी खेती कर्जा अब भने छिट्टै नै देशभर सुरु गर्ने तयारी गर्न लागिएको छ ।