काठमाडौं । यही आश्विन ११ गतेदेखि परेको अविरल वर्षासँगै ललितपुर महानगरपालिका वडा नं १३, नख्खुखोलामा आश्विन १२ गते आएको बाढीले बगाएका दुई व्यक्तिहरूको सकुशल उद्धार गर्न सफल काभ्रे जिल्ला तेमाल गाँउपालिका वडा नं ९ घर भएका ३३ वर्षीय चणिकलाल तामाङलाई महालक्ष्मी विकास बैंकले सम्मान गरको छ ।
आश्विन १३ गते बैंकको केन्द्रीय कार्यालयमा आयोजित एक कार्यक्रमका बीच तामाङले जोखिमका बीच देखाएको अदम्य साहस र उहाँको अठोट र तत्परताले राजु शाह र उनको परिवारको सदस्यको सफल उद्धार गर्न सकिएको निष्कर्षका साथ तामाङलाई एक लाख रुपैयाँ नगदसहित सम्मान गरीएको हो । यस्ता कार्यले विपत्को समयमा नागरीकस्तरबाट सुरक्षितरूपमा उद्घार कार्यमा सहभागिता जनाउन समेत हौसला मिल्ने विश्वास बैंकले लिएको छ । साथै, बैंकले देशैभरि आएको बाढीपहिरोको कारण ज्यान गुमाएका व्यक्तिहरूप्रति हार्दिक समवेदना व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना समेत गरेको छ ।
‘सबल बैंक, सफल सहकार्य’को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा विगत ३० वर्षदेखि अनवरतरूपले गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आएको यस बैंकको देशभर एक सय तीन वटा शाखा कार्यालयहरू र करिब आठ लाख ग्राहकहरू रहेका छन् ।